इलाम । इलामको माङसेबुङ गाउँपालिका–३ र ५ मा निर्माणाधीन बृहत माङसेबुङ लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ ।
विगत तीन वर्षदेखि निर्माण सुरु भएको आयोजनाको ८४ प्रतिशत काम सम्पन्न भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका इञ्जिनियर सविन श्रेष्ठले जानकारी दिए ।
नेपाल सरकारको १३ करोड आठ लाख तीन हजार सात सय आठ रुपैयाँ लागतमा आयोजना निर्माण थालिएको हो । माङसेबुङका दुईवटा वडावासीलाई पर्याप्त खानेपानी वितरण गर्ने लक्ष्यसहित सुरु गरिएको आयोजना आगामी कात्तिकभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
प्रत्येक ‘रिजर्भ ट्याङ्की’सम्मको तीन किलोमिटर तीन सय मिटर एचडिपिइ पाइप विस्तार गरिएको छ । प्रत्येक ‘रिजर्भ ट्याङ्की’बाट चार सय ७५ घरधुरीमा २२ किलोमिटर पाइपलाइन विस्तार गरी धारा जडान भइसकेको छ । आयोजनाको कार्यालय भवनसहित समुदायका लागि दुईवटा सार्वजनिक शौचालय निर्माण गरिएको छ ।
अब ‘रिजर्भ ट्याङ्की’बाट पाँच सय ९१ घरपरिवारका लागि नौ किलोमिटर पाइपलाइन विस्तार गरी धारा जडान गर्न बाँकी रहेको इञ्जिनियर श्रेष्ठले बताए।
आयोजना अन्तर्गत तीन किलोमिटर तल रहेको रतुवा खोलाबाट विद्युतीय मोटरले तानेको पानी ‘रिजर्भ ट्याङ्की’मा भण्डारण गरी घरघरमा वितरण गरिनेछ । विद्युतीय माध्यमबाट चल्ने आयोजनामा पानी खपत गरेबापत मिटरमा उठेको महशुल उपभोक्ताले तिर्नुपर्नेछ ।
आयोजनाले लारुम्बासहित वडा नं ५ का सबै क्षेत्र र वडा नं ३ का तल्लो भाग लामिटार र आसपासका क्षेत्र समेट्नेछ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने त्यहाँका बासिन्दा लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका छन् ।
आयोजना निर्माणका लागि विसं २०७८ असार २३ गते ठेकेदार कम्पनी ‘स्वामीनारायण निर्माण सेवा’सँग बहुवर्षे ठेक्का सम्झौता भएको थियो । आयोजनाबाट दुई वडाका एक हजार ६१ घरपरिवारका छ हजार तीन सय ९८ उपभोक्ता लाभान्वित हुने भएका छन् ।
माङसेबुङ गाउँपालिकाको वडा नं २ र ६ मा यसअघि लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आइसकेको छ ।