सुनसरी युथ क्लबले राष्ट्रिय स्तरको कोशी प्रिमियर लिग आयोजना गर्ने

न्युजलय ११ चैत २०७९, शनिवार ०१:५२ मा प्रकाशित

इटहरी । सुनसरी युथ क्लबले राष्ट्रिय स्तरको कोशी प्रिमियर लिग हन्ड्रेड बल क्रिकेट टुर्नामेन्ट प्रतियोगिता गर्ने भएको छ । शुक्रबार सुनसरीको इनरुवामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले प्रतियोगिता आगामी २०८० साल वैशाखको तेस्रो हप्ता देखि सुरु गर्ने जानकारी दिएको हो । 

यस अघिपनि सुनसरी प्रिमियर लिग ट्वान्टी/ट्वान्टी/टि टेन लगायतका प्रतियोगिता भब्य रुपमा सन्चालन गरिसकेको सुनसरी युथ क्लबले यस पटक भने फ्रेन्चाइज गेमको तयारीमा जुटेको छ । ६ वटा फ्रेन्चाइज टोली रहने प्रतियोगिताको अनुमानित लागत ९९ लाख रहने संयोजक अफजल हुसेनले बताए । फ्रेन्चाइज टोलीका लागि फर्म खुलिसकेको र फर्मका लागि सुनसरी युथ क्लबको वेबसाइटमा गएर विस्तृत विवरण हेर्न सकिने आयोजकले जनाएको छ । 


१८ वटा खेल रहने प्रतियोगिता सुनसरीको भोक्राहा नरसिंह गाउपालिकाको वडा नम्बर ४ मा रहेको खेल मैदानमा दिवा तथा रात्रीकालिन हुनेछ । नेपाल मै पहिलो पटक हन्ड्रेड बल्सको फेन्चाइज प्रतियोगिता हुने आयोजकको दाबी छ । 

उक्त पत्रकार सम्मेलनमा भोक्राहा नरसिंह गाँउपालिकाले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी द्वय ललित नारायण राजवंशी र दिपेश प्रसाद कडेललाई नगदसहित सम्मान गरेको छ । नेपाली क्रिकेटको पछिल्लो सफलतालाई यो स्थान सम्म ल्याइ पुर्याउन योगदान गरेको भन्दै पालिका अध्यक्ष अजमल अख्तर आजादले क्रिकेटर द्वयलाई बधाइ दिए । पालिकाले जनही २० हजार १ सय सहित खेलाडीलाई सम्मान गरेको हो ।