अनेरास्ववियुदेखि राजनीति थालेका खनालको सपना : पार्टीमामार्फत् समाजको लागि नवीनतम काम

न्युजलय ९ मङ्सिर २०८२, सोमबार ०७:२५ मा प्रकाशित

इटहरी । राजनीतिमा उनको रुची सानैदेखिको थियो । अनेरास्ववियुको कक्षा कमिटीबाट उनले थालेको राजनीति यात्रा अहिले पार्टीको केन्द्रिय राजनीति उन्मुख छ । सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट यस पटकको नेकपा एमालेको महाधिवेशन प्रतिनिधिको आकांक्षी उनी हुन् रवि खनाल ।

नेकपा एमालेको अविचलित यात्रामा उनी जिल्ला प्रचार विभाग प्रमुखसम्म भए । यसबिचमा उनी विद्यार्थी र युवाहरुको मुद्धामा केन्द्रित रहेछ । पार्टी संगठनमा उनको कुशल भुमिका उदाहरणीय रहँदै आएको छ । 

सुनसरी–काठमाडौ सम्पर्क मन्चमार्फत उपत्यकामा रही सम्पर्क समन्वयको जिम्मेवारी पूरा गरेका उनले नेकपा एमाले जिल्ला कमिटी सुनसरीको संगठन विभाग सचिव, जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य र प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।

राजनितिक, आर्थिक, सामाजिक र प्रशासनिक क्षेत्रको विकास र विस्तारमा निरन्तर सक्रिय उनले मुख्यमन्त्री हिक्मत कार्कीको जनसम्पर्क सल्लाहकार भएर कुशलतापूर्वक जिम्मेवारी निभाएका छन् । 

नेकपा एमालेको महाधिवेशनमा उनी प्रतिनिधिको आकांक्षी छन् र सुनसरीका सबै भन्दा पुरानो (२०२५ सालमा) पार्टी सदस्यता लिएका धरान १४ निवासी विहारप्रसाद पोखरेल उनको प्रस्तावक बनेका छन् । पुरानो र नयाँ दुवै पुस्तासँग उत्तिकै घुलमिल हुन सक्ने, प्रदेश सरकारको जनसम्पर्क सल्लाहकारको भूमिका निभाउन सक्ने योग्यताका खनाल नेकपा एमालेको महाधिवेशन प्रतिनिधि बनेर पार्टी गतिविधिमा अझ सक्रिय हुन चाहन्छन् । उनीसँग आफ्नो क्षेत्र र प्रदेशको अनि देशको विकास कसरी गर्ने भन्ने नवीनतम योजनाहरु छन् । ती योजनालाई नेकपा एमालेमार्फत् लागु गर्ने चाहना उनीसँग छ ।

‘अहिलेसम्मको अनुभव र ज्ञानलाई म पार्टी निर्माण र त्यसमार्फत् समाज निर्माणको दिशामा समर्पित गर्न चाहन्छु,’ उनी भन्छन्, ‘त्यसको लागि पार्टी सदस्यहरुले मलाई महाधिवेशन प्रतिनिधि बनाउनुहुन्छ भन्ने विश्वास छ ।’

पार्टीलाई जनतासँग जोड्ने र विकासमा सहकार्य गर्ने चाहना उनको छ । महाधिवेशन प्रतिनिधिमा सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट ३१ जनाको दावेदारी परेको छ । त्यसमध्ये उमेरमा युवा तर अनुभवमा प्रशासन, जनसम्पर्क, चुनाव आदि सबै मोर्चामा सक्रिय र सफल रहेको खनालको दावी छ । ‘पार्टी सदस्यहरुसँग महाधिवेशन प्रतिनिधिमा अत्याधिक मतका लागि विशेष अनुरोध गर्छु,’ उनले भने, ‘पार्टीलाई नयाँ अनुभव र उचाइमा अघि बढाउन आवश्यक छ, त्यसको लागि सबैसँग हातेमालो गर्न तयार छु ।’