काठमाडौ । व्यवसायमा मन्दी छाइरहेको समयमा बैंकले ब्याजदर चर्को बढाएको भन्दै उद्योगी–व्यवसायीहरू संघर्षमा उत्रिएका छन् । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले अहिले बैंकहरूले बेस रेटमा ८ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज असुल्न थालेको व्यवसायीहरूको गुनासो गरेका छन् ।
अहिले वाणिज्य बैंकहरूको औसत ब्याजदर ९.८० प्रतिशत ब्याजदर रहेको छ । कर्जाको ब्याजदरका कारण व्यवसाय सञ्चालन गर्न कठिनाइ भएपछि निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले गभर्नर महाप्रसाद अधिकारीलाई भेटेरै एकल बिन्दुमा ब्याजदर झार्न तथा साँवा–ब्याज बुझाउने समयसीमा बढाइदिन माग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संस्थागत रूपमै ब्याजदर वृद्धिको विरोध गरिरहेका छन् । यसबीचमा अर्थ मन्त्रालयले सहसचिव बाबुराम सुवेदीको संयोजकत्व गठन भएको समितिले आर्थिक, वित्तीय र मौद्रिक क्षेत्र सुधारसम्बन्धी अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको छ । तर, ब्याजदर घटाउन सो प्रतिवेदनले दिएको सुझावउपर सरकारले कुनै निर्णय गरेको छैन ।
होटेल संघ नेपाल (हान)ले पनि बिहीबार गभर्नरलाई भेटेर अहिलेकै अवस्थामा बैंकलाई साँवा–ब्याज बुझाउन नसकिने बताएको छ । हानकी अध्यक्ष सिर्जना राणाले साँवा–ब्याज बुझाउने समयसीमा कम्तीमा दुई वर्ष बढाउन माग गरेकी छिन् । भेटमा गभर्नर अधिकारीले वर्तमान अवस्थाबाट त्रसिन नहुन आग्रह गर्दै मौद्रिक नीतिको पुनरावलोकन तथा नीतिगत व्यवस्थामार्फत मागहरूको सम्बोधन हुने आश्वासन दिए ।
ब्याजदर घटाउनुपर्ने र साँवा–ब्याज तिर्ने समय सार्नुपर्ने माग गर्दैै जिल्ला, क्षेत्रीय तथा अन्य संगठनहरूले देशव्यापी आन्दोलन गर्ने तयारी गरिरहेका छन् । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेसहितको प्रतिनिधिमण्डलले गभर्नरलाई भेटेर ब्याजदर वृद्धिका कारण औद्योगिक क्षेत्रमा परेको असर र समाधानका उपायका विषयमा सुझाव दिएका छन् । इटहरीमा पनि केही दिनअघि व्यवशायीहरुले विरोधमा र्याली निकालेका थिए ।