प्रदेश १ मा मन्त्रालय फुटाउने तयारी, ७ लाई १२ बनाउने

न्युजलय २९ पुस २०७८, बिहिबार ०७:४८ मा प्रकाशित

विराटनगर । प्रदेश १ सरकारले केही मन्त्रालय फुटाउने तयारी गरेको छ । हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात मन्त्रालय रहेकोमा मन्त्रालय फुटाएर १२ वटा बनाउने तयारी छ । 

मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको प्रदेश सरकारमा हाल नेपाली कांग्रेसबाट दुई तथा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक–एकजना मन्त्री छन् । अहिले नै पनि उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था कृषि तथा सहकारी गरी दुई मन्त्रालय खाली छ । अझै पनि मन्त्रालयहरु फुटाएर थप ७ जना मन्त्री थप्न लागिएको हो । सामाजिक विकास, भौतिक पूर्वाधार र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाउने सत्तारुढ गठबन्धनको तयारी छ ।

राईलाई मुख्यमन्त्री बनाउन बेला दलहरुबीच भएको भागबन्डाअनुसार कांग्रेसले ३, माओवादी केन्द्र र एकीकृत समाजवादीले २–२ मन्त्रालय पाउन बाँकी छ । मुख्यमन्त्री राईले राज्यमन्त्रीसहित मन्त्रिपरिषदको संख्या १७–१८ पुर्याउने तयारी गरेका छन् ।