बादर आतंक र खडेरीको मारमा हतुवागढीका किसान, बिउ जोगाउने चिन्ता

न्युजलय २३ असार २०८३, मङ्गलबार १०:४१ मा प्रकाशित

घोडेटार । असार बित्नै लाग्दा पनि वर्षा नहुँदा भोजपुरको हतुवागढीका किसान खडेरीको मारमा परेका छन् ।

हतुवागढी गाउँपालिका अन्तर्गत होम्ताङको तल्लो भेग लङ्खा, दिथारा गाउँ, हर्का र लुङ्गिनमा खडेरीले मकैका बोट सुक्न थालेपछि किसानलाई आगामी वर्षका लागि बिउसमेत जोगाउन कठिन हुने चिन्ता बढेको छ ।

स्थानीय किसान राजेन्द्र साम्पाङका अनुसार धानचमरा निस्कनै लागेका मकैका बोटहरु खडेरीले सुक्न थालेका छन् । ‘पानी पर्ने समय भएपनी पानी छैन, मकै बोटमै सुक्न थालेका छन्।’ उनले भने । उनका अनुसार, कतिपयको बीउ समेत जोगिने अवस्था छैन ।  ‘अब पानी परे पनि बोट बाच्ने आशा छैन,’ उनले भने । 

खडेरीले होम्ताङमा बदाम खेती समेत प्रभावित भएको छ । सिँचाइ सुविधा नभएका अधिकांश आकाशे पानीमा निर्भर क्षेत्रका किसानलाई समयमै वर्षा नभए धान उत्पादनमा समेत असर पर्ने चिन्ता बढेको छ । खैराङका किसान भुपाल खत्रीले पानी नपरेकै कारण धान रोप्न ढिलाई भएको बताए । ‘अघिल्ला वर्ष अहिले रोपाई सुरु भइ सक्थ्यो, पानीकै कारण यसपाली आट आएको छैन’ उनले भने । 

समस्या खडेरीको मात्र होइन, वर्षभरि पसिना बगाएर लगाएको बाली भित्र्याउने बेलामा बाँदरसहित जंगली जनावरले सखाप पार्न थालेपछि किसानहरू पीडामा छन् । अहिले मकैको घोगा लाग्ने  र पाक्ने समय हो । चमरा ननिस्कदै परिवारका एक सदस्य बाँदर खेद्न बारीमा पर्खिनुपर्ने बाध्यता छ । पढाइ छाडेर पनि बाली जोगाउन पर्खिनु पर्ने स्थानीयको गुनासो छ ।