भारत - पाकिस्तान युद्ध र नेपालले अपनाउनुपर्ने सावधानी

विरेन्द्र कार्की २५ बैशाख २०८२, बिहिबार ०८:५० मा प्रकाशित

भारत र पाकिस्तान युद्धमा छन्। यो पूर्वार्ध हो र उत्तरार्द्ध अझै अज्ञात छ। यद्यपि भारत–पाकिस्तान युद्ध कुनै नौलो कुरा होइन—यो चौथो पटक दोहोरिएको हो। तथापि, यो पटकको युद्धको प्रकृति भने केही फरक छ।


जम्मु–कश्मीरको पहलगाममा भएको आतंककारी हमला यस युद्धको प्रमुख कारण हो, जहाँ एक नेपाली युवकसहित २६ जनाको निर्मम हत्या भएको थियो। यो युद्धलाई लिएर विश्वका शक्तिशाली राष्ट्रहरूले आ–आफ्नो धारणा बनाइरहेका छन्। त्यस अनुसार, युद्धरत यी दुई राष्ट्रका छिमेकी मुलुकहरू पनि आफू कसरी सुरक्षित रहने भन्ने चिन्तामा छन्, जुन स्वाभाविक हो।


हामी नेपालीका लागि चासोको विषय भनेको अन्य मुलुकहरूले के गरिरहेका छन् भन्ने होइन, बरु यस्तो परिस्थितिमा नेपाल कसरी सुरक्षित रहन सक्छ भन्ने हो। यस सन्दर्भमा नेपालको सरकारको दृष्टिकोण के हो? के पाकिस्तानमाथि अचानक हमला गर्नु उचित थियो? यस प्रश्नमा पनि विश्वको ध्यानाकर्षण हुनु जरुरी छ।


फेरि यहाँ आतंकवादको कुरा छ। देशी–विदेशी निर्दोष नागरिकहरू मारिएका छन्। बर्बर ढंगले हत्या गरिएको छ। यसअघि भएका भारत–पाकिस्तान युद्धहरू मुख्यतः आफ्नो सीमासँग सम्बन्धित थिए। त्यसैले तिनको चासो ती दुई देशमा सीमित थियो। तर यो पटकको युद्धले सम्पूर्ण विश्वलाई नै तानेको छ, र आजको विश्व आतंकवादको विरुद्धमा एकजुट हुँदैछ।


नेपालले अहिले गम्भीरतापूर्वक निर्णय लिनुपर्ने अवस्था आएको छ। युद्ध हो—जे पनि हुन सक्छ। भारतको वर्तमान सरकार कट्टर हिन्दुत्व मार्गमा अघि बढेको छ। पाकिस्तान त इस्लामिक राष्ट्र हो नै। त्यसैले कुनै पनि बेला हिन्दु–मुस्लिम द्वन्द्व चर्किन सक्छ, र त्यसको असर नेपालमा पर्दैन भन्ने अवस्था छैन।


सदियौँदेखि पहाडका कुनाकाप्चादेखि तराईका फाँटहरूसम्म नेपाली मुस्लिमहरूको बसोबास रहेको छ। हालै मात्र नेपाली मुस्लिमहरूले इजरायलविरुद्ध र प्यालेस्टाइनको समर्थनमा देशभर उग्र प्रदर्शन गरिसकेका छन्। यसबाट नेपाल उच्च जोखिममा रहेको संकेत देखिन्छ।


वर्षौँदेखि भारत जुन क्षणको प्रतीक्षामा थियो, त्यो क्षण अहिले उसले आफ्नो नियन्त्रणमा ल्याइसकेको छ। अब नेपालका नाका बन्द हुन सक्छन्। आतंककारी अनुसन्धानको बहानामा भारतीय सेना नेपाल छिर्न सक्छ। केही वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय एयरलाइन्स अपहरण भई अफगानिस्तानको कान्धाहार पुर्‍याइएको र त्यसबाट भारतले ठूलो संख्यामा आतंककारीहरू रिहा गर्नु परेको घटनालाई भारतले अझै बिर्सेको छैन। त्यसैले जे पनि हुन सक्छ।


सरकारले सर्वदलीय बहस सुरु गर्नु जरुरी छ। आफ्नो परराष्ट्र नीति प्रस्ट्याउन जरुरी छ। कूटनीतिक पहल तुरुन्त अघि बढाउनु आवश्यक छ। भारत आफूले विश्वको समर्थन पाउनेमा विश्वस्त छ, जसले उसको मनोबल उच्च बनाएको छ। अर्थात् उसले जे सोच्यो, त्यही गर्न सक्ने अवस्थामा छ।


अन्ततः, कुनै पनि आतंक बाँकी रहनु हुँदैन। तर नेपाल र नेपालीहरू भने सुरक्षित रहनैपर्छ। जय नेपाल।