इटहरी । नेपाल फोटो पत्रकार महासंघ कोशी प्रदेश कार्यसमितिका सदस्य इटहरी ८ का विसप ताम्राकारमाथि शुक्रबार राति अराजक समूहले घरमै प्रवेश गरी आक्रमण गरेको छ । स्थानीय अमरजित कुमार सिंह, उनकी श्रीमती र छोरा रोहित, सोहित र मोहीतकुमारले घरेलु हतियारले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको ताम्राकारले बताए ।
ताम्राकारकै घर अगाडीको घरमा भाडामा बस्दै आएको उक्त परिवारले आक्रमण गरेको थियो । स्थानीयहरुले प्रतिकार गरेपछि आक्रमणकारी भागेका थिए । इलाका प्रहरी कार्यालय इटहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ ।
उक्त परिवार यसअघि पनि शंकास्पद गतिविधिमा संलग्न भएको स्थानीयले. बताएका छन् । उनीहरुलाई कोठा खाली गर्न घरबेटीले भनेपनि अटेर गर्दै आएका थिए । सोही विषयमा आइतबार बिहान स्थानिय समुदायको रोहबरमा छलफल भइ सहमती भइसकेको अवस्थामा बेलुका आफ्नो परिवारमाथि आक्रमण गरिएको ताम्राकारले बताए ।
घटनालाई लिएर नेपाल फोटो पत्रकार महासंघले भर्त्सना गरेको छ । महासंघले संविधानले सुनिश्चित गरेको भयरहित वातावरणमा बाँच्ने नागरिक अधिकारमाथि भएको यो आक्रमण नियोजित र आपराधिक भएको ठहर गर्दै घटनामा संलग्न सबैलाई हदैसम्मको कानूनी कारबाही गर्न माग गरेको छ ।