कुवेतमा विषाक्त मदिरा सेवनका कारण ९ नेपालीको मृत्यु

न्युजलय ३१ साउन २०८२, शुक्रबार ०२:०७ मा प्रकाशित

काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनका कारण तीन दिनमा ९ जना नेपालीको मृत्यु भएको छ । 

अझै केही उपचारकै क्रममा छन् । केहीलाई भने डिस्चार्ज गरिसकिएको त्यहाँस्थित अस्पतालले नेपाली राजदूतावासलाई जानकारी गराएका छन् ।

कुवेतस्थित स्वास्थ्य मन्त्रालयले मेथानोल मदिराका कारण बिरामीहरू धमाधम अस्पताल भर्ना हुने क्रम बढेको उल्लेख गरेको छ । नेपाली ९ सहित अन्य एसियाली मुलुकका २३ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छ ।

१ सय ६० जनाभन्दा बढी उपचारका क्रममा रहेको मन्त्रालयले जनाएको छ । कुवेतस्थित आदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा बिरामीहरूको उपचार भइरहेको छ ।

कुवेतमा मदिरा पूर्णरूपमा प्रतिबन्धित छ । तर, पनि लुकिछुपी हुने उत्पादन गरी अवैधानिक बेचबिखन भएको पाइएको हो । विषाक्त मदिराको स्रोत पत्ता लगाउन अनुसन्धान भइरहेको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ ।

विषाक्त मदिरा सेवन गरेर मृत्यु हुने र गम्भीर बिरामी हुनेमा अधिकांश निर्माण मजदुर रहेका छन् ।

प्रारम्भिक अनुसन्धानमा मदिरामा मेथानोल प्रयोग भएको देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पुष्टि गरेका छन् । मेथानोल एक विषालु रसायन हो ।