आईसीसी लिग–२ : त्रिकोणात्मक सिरिजमा नेपालको क्लिन स्वीप

न्युजलय ९ फाल्गुण २०७९, मङ्गलबार ११:१० मा प्रकाशित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि नेपालले जितेको छ । चौथो तथा आजको अन्तिम खेलमा स्कटल्याण्डलाई दुई विकेटले हराएसँगै नेपालले चार वटै खेलमा जित हात पारेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेपछि स्कटल्याण्डले पहिला ब्याटिङको निम्तो पाएको थियो ।

स्कटल्याण्डले निर्धारित ५० ओभरको खेलमा ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै दुई सय १२ रनको योगफल बनायो । दुई सय १३ रनको विजय लक्ष्य नेपालले ३५ बल बाँकी छँदै आठ विकेट गुमाएर पुरा ग¥यो । नेपालले ६१ रन बनाउँदा आफ्ना महत्वपूर्ण पाँच विकेट गुमाइसकेको थियो । एक सय ३८ रन बनाउँदा आठ विकेट गुमाएको अवस्थामा नेपाली पारीलाई कप्तान रोहितकुमार पौडेल र अलराउण्डर करण केसीको उत्कृष्ट खेलले जिताएको हो । दुवैबीच ७५ रनको साझेदारी भएको हो ।

कप्तान पौडलेले अविजित ९५ तथा केसीले ३१ रनको योगदान दिए । यस्तै ज्ञानेन्द्र मल्लले २१, कुशल मल्लले १७ र आशिफ शेखले १२ रन बनाए । बलिङतर्फ स्कटल्याण्डका मार्क वाटले तीन र क्रिस ग्रेभ्ब्सले दुई विकेट लिए । 

यसअघि दुई सय १२ रन बनाउने क्रममा स्कटल्याण्डका लागि जर्ज मुन्शेले सर्वाधिक ६० रनको योगदान दिए । उनले ५० बलमा नौ चौका र दुई छक्काको मद्दतमा ६० रन बनाए । यस्तै म्याथ्यु क्रसले ४२, ब्रेन्डन म्याकुलमले ३१ तथा काइल कोट्जर र क्रिसटोफर म्याकब्राइडले समान २२–२२ रन बनाए । 

बलिङतर्फ नेपालका सन्दिप लामिछानेले चार, करण केसीले तीन, ललितनारायण राजवंशी र कुशल मल्लले समान एक–एक विकेट लिए । यसअघिको खेलमा पनि नेपालले स्कटल्याण्डलाई तीन विकेटले हराएको थियो । यस्तै नेपालले नामिबियाविरुद्धको पहिलो खेल दुई विकेटले र दोस्रो खेल तीन विकेटले जितेको थियो । 

लिग–२ मा नेपाल २६ अङ्कका साथ छैटौँ स्थानमा छ । नेपालले हालसम्म खेलेका २८ खेलमध्ये १२ मा जित तथा १४ खेलमा हार बेहोरेको छ । यस्तै स्कटल्याण्ड ३६ खेलमा ५० अङ्क जोड्दै स्कटल्याण्ड लिग–२ को च्याम्पियनसमेत बनेको छ । जारी सिरिजमा चारवटै खेलमा पराजित भएको नामिबियाले हालसम्म ३४ खेल खेल्दै ३७ अङ्क जोडेको छ । नामिबिया लिग–२ को तेस्रो स्थानमा छ ।