काठमाडौ । काठमाडौंस्थित इस्लिङ्टन कलेजमा मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको छ। विश्व आदर्श कलेजमा गठन भएका दुई समुहहरु लाभा तथा एस क्यु सि ग्रुपको आयोजनामा आइतबार र सोमबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा मन्चन गरिने भएको हो ।
बिहान ११ बजे र दिउँसो ३ बजे गरी दिनको दुई शो प्रस्तुत गरिनेछ । यस नाटकलाई सुगम दुलालले नेपाली रूपान्तरण गरेका हुन् भने निर्देशन प्रजल दुलालले गरेका छन् । दुवै इटहरीमा लामो समयदेखि कलालय इटहरीमार्फत् नाट्य कर्ममा सक्रिय थिए ।
इटहरीका युवाहरुले काठमाडौमा प्रर्दशन गरेर चर्चा र प्रसंसा पाएको उक्त नाटकलाई इटहरीमा प्रस्तुत गर्न पाउनु सुखद अवसर भएको विश्वआदर्श कलेजका प्राचार्य गणेश दुलालले बताए । स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने, नयाँ प्रतिभाको प्रस्फुटन गराउने तथा इटहरीको रङ्गमञ्चलाई थप जीवन्त बनाउने उद्देश्यले सम्पूर्ण नाट्य टोलीलाई इटहरी आमन्त्रण गरिएको उनले बताए ।
यसअघि काठमाडौंमा भएको मञ्चनमा चर्चित अभिनेत्री रिचा शर्मा, वरिष्ठ कलाकार हेमन्त बुढाथोकी, साहित्यकार सुरज सुबेदी लगायत साहित्य, कला र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। नाटकले दर्शकबाट समेत अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गर्दै उल्लेखनीय चर्चा बटुलेको थियो।
नाटकमा सहभागि युवा कलाकारहरुले आफ्नै नगरमा नाटक प्रदर्शन गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । ‘पापशाला’ विश्वप्रसिद्ध फ्रान्सेली अस्तित्ववादी दार्शनिक जाँ–पल सार्त्रको चर्चित नाटक ‘नो एक्जिट’ को नेपाली रूपान्तरण हो । नेपाली परिवेश, पात्र र समाजको मनोविज्ञानलाई केन्द्रमा राखेर गरिएको यस रूपान्तरणले मौलिक स्वाद प्रदान गरेको लेखक सुगम दुलाल बताउँछन् ।
उनका अनुसार, नाटक तीन जना मृत व्यक्तिहरू एउटै बन्द कोठामा सँगै थुनिएको अवस्थाबाट सुरु हुन्छ। समयसँगै उनीहरूले आफूहरूको सबैभन्दा ठूलो यातना कुनै शारीरिक पीडा नभई एक–अर्काको उपस्थितिमै रहेको अनुभूति गर्छन्। यही मनोवैज्ञानिक द्वन्द्व र अस्तित्वको खोज नै नाटकको मुख्य कथावस्तु हो।
निर्देशक प्रजल दुलालका अनुसार, नेपाली परिवेशमा ढालिएको यो प्रस्तुतीकरणले दर्शकलाई सजिलै बुझ्न सहयोग गर्छ । नाटकले मानिसको स्वतन्त्रता, जिम्मेवारी, आत्मपहिचान र अरूको दृष्टिले हाम्रो अस्तित्व कसरी परिभाषित हुन्छ भन्ने गहिरो अस्तित्ववादी प्रश्न उठाएको उनले बताए।
नाटकमा अबिन ठटाल, लुमन्ती महर्जन, सुगम दुलाल र प्रजल दुलालको अभिनय रहेको छ। संगीत विश्वकर्माको संगीत, सुरभी प्याकुरेलको गायन रहेको छ। कार्भिका पोखरेलको सिर्जनात्मक निर्देशनमा तयार भएको हो ।