प्रेस चौतारी सुनसरीले गर्यो मिडिया संकटबारे अन्तरक्रिया

न्युजलय २२ माघ २०८०, सोमबार ०८:०० मा प्रकाशित

इटहरी । मिडिया क्षेत्रमा देखिएको संकट समाधान गर्न मिडियाकर्मी, सरकार र आम पाठक तथा दर्शकहरु जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिइएको छ । 

प्रेस चौतारी सुनसरीले इटहरीमा आयोजना गरेको मिडियाको समस्या र समाधानका उपाय विषयक अन्तरक्रियामा बोल्दै वक्ताहरुले मिडिया संकट समाधान गर्न मिडियाकर्मीहरु जिम्मेवार हुनुपर्ने, सरकारले सहयोग गर्नुपर्ने र पाठकहरुले पनि मिडियाको स्थायित्वको लागि सहयोग गर्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसका अवसरमा इटहरीको तालतलैयामा आयोजित वनभोज तथा अन्तक्र्रिया कार्यक्रममा वक्ताहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले प्रविधि र समयको बद्लावलाई स्वीकारेर आफूलाई रुपान्तरण गर्नुपर्नेमा जोड दिए । 

उनले समानुपातिक बिज्ञापन नीति लागु गर्नसके मिडिया स्थायित्वको आधार तयार हुने भएपनि त्यसको लागि कानुन नै सच्याउनुपर्ने बताए । उनले मिडिया लोकतन्त्र र विकासको लागि अत्यावश्यक भएको बताउँदै मिडिया संकटमा सबैको सहकार्य आवश्यक पर्ने धारणा राखे ।

कार्यक्रमको सुरुवातमै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य देवेन्द्र कार्कीले मिडिया संकट, चुनौति र सम्भावना विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले समयसँगै मिडियाका चुनौतिहरु बढेको बताउँदै ८० प्रतिशत मिडियाहरु संकटमा रहेको र धेरै पत्रकारले जागिर गुमाएको तथ्यांक प्रस्तुत गरे ।

यस्तै प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष लिलाराज भटटराईले मिडियालाई डिजिटलाइज्ड बनाउनुपर्ने बताएका थिए । कार्यपत्र माथि टिप्पणी गर्दै प्रेस चौतारी नेपालका सचिब बिक्रम लुइटेलले पत्रकार आफै पनि जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिए । 

यस्तै एमाले कोशी प्रदेश प्रचार बिभाग प्रमुख लक्ष्मण तिवारीले मिडिया डिजिटलमैत्री बन्नुपर्ने आवश्यकता औंल्याए भने एमाले सुनसरी अध्यक्ष रेवती भण्डारीले मिडिया युग सुहाउँदो हुनुपर्ने त्यसका लागि तीनै तहका सरकारले सहयोग गर्नुपर्ने बताए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, प्रेस सेन्टरका उपमहासचिव राजन केडी, प्रेस युनियन सुनसरी अध्यक्ष धु्रव ढकाल लगायतले कार्यपत्र माथि टिप्पणी गरेका थिए । 

प्रेस चौतारी सुनसरी अध्यक्ष सुभद्रा प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विकास राईले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन विकल पौडेलले गरेका थिए ।

कार्यक्रममा प्रेस सम्बद्ध विभिन्न संगठनका पदाधिकारी, सदस्यहरु, नेकपा एमाले नेताहरु पुर्व मन्त्री जिवन घिमिरे, प्रदेश सांसद मीना श्रेष्ठ, एमाले केन्द्रिय सदस्य लक्ष्मी गौतम तथा मञ्जु भण्डारीलगायतको समेत उपस्थिती रहेको थियो ।