सगरमाथा क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु

न्युजलय ६ फाल्गुण २०८०, आइतबार १२:११ मा प्रकाशित

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ।

मृत्यु हुनेमा बेलायती नागरिक ४२ वर्षीया एलिजाबेथ डायरो र चिनियाँ नागरिक २६ वर्षीय वइनश्व डोङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रहरीका अनुसार जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्क्षेपस्थित एक होटलमा बास बसेका बेलायती नागरिक डायरोको सोही स्थानमा मृत्यु भएको हो।

गत माघ २४ गते नमस्ते ट्रेकिङ कम्पनीमार्फत सगरमाथा क्षेत्र भ्रमणमा आएका उनी लुक्लाबाट सगरमाथा आधार शिविर जाने क्रममा गोरक्क्षेपस्थित हिमालयन लजमा बास बसेका थिए। सोही दिन साँझ ५ बजेतिर होटलमै बेहोस भई ढलेका एलिजाबेथको केही समयपछि सोही स्थानमा ज्यान गएको प्रहरी ले जानकारी दिएको छ ।

साथै चिनियाँ नागरिक डोङ रेन्जोला पास गरेर फर्किने क्रममा गत मङ्गलबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा बाटोमा अचेत अवस्थामा भेटिएका उनको उद्धार गर्ने क्रममा मृत्यु भएको हो।

दुवै जनाको शव कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।