लहैलहैले कुलतमा फस्दै युवा, १६ देखि २५ वर्ष उमेर समूहका बढी संलग्न

शंकर खत्री २६ कार्तिक २०७८, शुक्रबार ०७:०३ मा प्रकाशित

इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ चक्रघट्टीका कृतम पोखरेल साथीको लहैलहैमा लागेर लागूऔषधको लतमा फसे ।

कस्तो हुँदो रहेछ एक पटक चाखौँँ न त भनेर सुरु भएको उनको लागूऔषधको यात्रा त्यो विना जिवनयापन नै गर्न नसक्नेमा पुग्यो ।

‘साथीहरुले खाएको देख्दा कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा लाग्थ्यो,' उनले भने, 'त्यसले नै मलाई कुलतमा लाग्न प्रेरित गर्यो ।’ भरखर २२ वर्षका उनि कलेज पढ्दा कुलतमा लागे । 


जसले परिवार र समाजसँग दुरी बढाएको उनले बताए । कुलतमा लागेर परिवार र समाज नै भूलेका उनलाई आफू कसरी कुलतमा फसे थाहा नै भएन । अझ उनि म कुलतमा लागेकै छैन जस्तो लाग्ने सुनाउँछन् ।

‘कुलतमा फस्दा पनि मलाई यो फिल (अनुभव) भए न कि, म के गर्दै छु ?, मैले गर्दा समाजमा कस्तो असर पु¥याएको छ ? र मैले कस्तो कु कर्म गर्दै छु ? भनेर’, उनले भने ।

अहिले उनि सुनसरीको इटहरीमा संचालनमा रहेको आस्था फाउन्डेसनल सञ्चालन गरेको पुर्नस्थापना केन्द्रमा बस्दै आएका छन् । 


यहाँ आएपछि आफूले जीवनको महत्व बुझेको उनको भनाइ छ । आफू कुलतमा नै फसेका कारण परिवारको शिर समाजमा झुकेको भन्दै उनि दुःखी हुन्छन् । पुर्नस्थापना केन्द्रबाट फर्किएपछि परिवार र समाजका लागि असल काम गर्ने उनको भनाइ छ । ‘जब म यहाँ आएँ । मलाई यहाँबाट धेरै प्रेरित गर्नुभएको छ’, उनले भने, ‘र, अब घर फर्किएर असल काम गर्छु भन्ने झिनो आसा मनमा छ । बुबाको झुकेको शिर उठाउन काम गर्ने छु ।’


युवा अवस्थामा साथी छनौट र संगतमा विशेष ख्याल गर्न सके कोहि आफूजस्तो पछुताउन नपर्ने उनि बताउँछन् । ‘अहिले टिन एज (युवा उमेर)मा, कलेज लाइफमा नै यस्तो कुराहरु सिकिन्छ’, उनले भने, ‘कलेजमा एउटा साथीले यस्तो भन्यो, अर्कोले उस्तो भनो भनेर कुलतमा फसिन्छ । त्यसैले साथी बनाउँदा ध्यान दिनुपर्ने रहेछ भन्ने मलाई लागेको छ ।’ 


उनकै भनाइमा एक्यावद्धता जनाउँछन् मोरङको सुन्दरहरैँचा नगरपालिकाका प्रकाश बस्नेत । उनि पनि पोखरेल बसेकै पुन स्थापना केन्द्रमा बस्दै आएका छन् । उनि पनि कस्तो हुँदो रहेछ भनेर कुलतमा फसेको बताउँछन् । ‘म पनि कस्तो हुँदो रहेछ भनेर जान्ने इच्छाले कुलतमा फसेँ’, उनले भने, ‘म भन्दा अग्रज दाईहरुले खाएर गाउँमा फुइँया लडाएको देख्दा त्यसै गर्न मन लागेर सुरु गरेँ । मैले पनि खाँए भने उहाँहरु जस्तै हुन्छु जस्तो लाग्थ्यो ।’


२०६३ साला स्थापना भएको आस्था फाउन्डेसमा पुनस्थापनाका लागि आउने पनि अधिक मात्रामा युवा उमेरमा रहेको कार्यक्रम संयोजक चन्द्र बरालले जानकारी दिए । २०/२२ वर्ष उमेर समुहका युवाहरु बढी मात्रामा कुलतमा फसेर पुनस्थापनाका लागि आउने गरेको उनि बताउँछन् । यसले समाजका विकृति बढाउँदै लगेको उनि बताउँछन् ।

‘अहिलेको मादकपदार्थ र लागूऔषधको विकाराल अवस्थामा अहिलेका युवाहरु साह्रै जोखिममा रहेका छन्’, उनले भने, ‘उमेर समुह भन्नुपर्दा १५ वर्ष देखि २०/२५ वर्षका केटाहरु बढी मात्रामा संलग्न रहेको देखिन्छ । २५ वर्ष देखि ३५ वर्ष उमेरका चाहिँ मादकपदार्थको लतमा फसेका पाइएको छ ।’


यहाँको तथ्याङ्गकले मात्रै होइन्, प्रहरीको तथ्याङ्कले पनि लागूऔषधको ओसारपसार, वितरण, प्रयोग तथा कारोबारमा युवा सहभागिता अत्याधिक रहेको देखाउँछ । इलाका प्रहरी कार्यालय इटहरीमा आर्थिक वर्ष २०७७/०७८ मा लागूऔषध कसुरमा ४६ जना पक्राउ परे । जसमा २६ जना १६ देखि २५ वर्ष, १४ जना २६ देखि ३५ वर्ष र अन्य ६ जना सो भन्दा बढी उमेर समुहका रहेका प्रहरी नायव उपरिक्षक अर्जुन केसीले जानकारी दिए ।

यसले लागूऔषधमा युवाको उपस्थिति विकाराल बन्दै गएको उनको भनाइ छ ।


‘१६ वर्षदेखि २५ वर्ष उमेर समूहका व्यक्तिहरु बढी यसमा संलग्न भएको पाइएको छ । गत आर्थिक वर्ष र यो वर्षमा हामी पक्राउ गरेको संख्याले पनि यहि देखाउँछ’, डिएसपी केसीले भने, ‘गत आर्थिक वर्षमा हामीले ४६ जनालाई हामीले पक्राउ गरेका थियौँ । जसमा २६ जना १६ देखि २५ वर्षका रहेका छन् । १४ जना २६ देखि ३५ वर्षका रहेका छन् ।’

उनले यो आर्थिक वर्षमा १४ जना पक्राउ परेकामा ७ जना १६ देखि २५ वर्ष र ४ जना २६ देखि ३५ वर्ष उमेर समुहका रहेको जानकारी दिए । यस्तै लागूऔषधको कारोबार, प्रयोग, वितरण र सञ्चयमा विशेषतः यहि समूहको संलग्नता रहेको उनले जानकारी दिए ।