सुन्दरहरैंचामा चैत ११ गते गाईको विशाल प्रतिमाको अनावरण गरिँदै (भिडियो)

न्युजलय ५ चैत २०८०, सोमबार ०८:४८ मा प्रकाशित

इटहरी । सुन्दरहरैंचा ५ स्थित नयाँ वृन्दावन गौशालामा निर्मित गाईको विश्वकै सबैभन्दा ठूलो प्रतिमाको अनावरण चैत ११ गते गरिने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबाट प्रतिमा उद्घाटन गरिने जनाइएको छ । 

होलीको अवसरमा गाईको प्रतिमा अनावरणका साथै फूलको होली खेलिने राधेश्याम सेवा ट्रष्ट नयाँ वृन्दावन गौशालाका संस्थापक संरक्षक महामण्डलेश्वर दीनबन्धु शास्त्री महाराजले जानकारी दिएका छन् । गौशालामा चैत्र ७ गतेदेखि १५ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिने र सोही बिचमा अनावरणको कार्यक्रम aराखिएको जानकारी दिए । 

नयाँ वृन्दावन गौशालाको संरक्षण र संबद्र्धन गर्नको लागि अक्षयकोष बनाउन र वैदिक सनातन धर्म संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको गौशालाले जानकारी दिएको छ । 

७ गते महायज्ञ उद्घाटनका अवसरमा बाजागाजा, झाँकी र पूर्ण कलशसहित भव्य शोभा यात्रा गरिनेछ । यस्तै महायज्ञ अवधिभर विशिष्ट सन्त महात्माहरुबाट दार्शनिक प्रवचन, ख्यातीप्राप्त कलाकारहरुद्वारा सङ्गीतमय भजन कीर्तन र झाँकी प्रदर्शन गरिनेछ ।

श्रीमद्भागवत कथा प्रवचन दीनबन्धु शास्त्री महाराजले गर्नेछन् भने पं. तुलसी भण्डारीबाट पाठपारायण हुने जनाइएको छ । महायज्ञअन्तर्गत महारुद्राभिषेक, दुर्गा शतचण्डी, चतुर्वेद पाठ पारायण र हवन कार्य, भूमिदानलगायतका अनुष्ठानसमेत गरिने छन् । 

विश्वकै ठूलो गाईको प्रतिमा, पूर्वकै ठूलो राधाकृष्ण मन्दिर, सबै गोत्रीय ऋषि प्रतिमा पार्क, वाटर फाउन्टेन, विभिन्न देवीदेवताका मूर्ती र मन्दिरहरु, गौशाला, गुरुकुल शिक्षालय लगायतका विशेषता भएको नयाँ वृन्दावन गौशालाले बाल तथा ज्येष्ठ नागरिक आश्रम सञ्चालन गर्ने उद्देश्य लिएको छ । 

नयाँ वृन्दावन गौशालामा रहेका गाईहरुको पालन पोषणदेखि गुरुकुलका विद्यार्थीको बसोबास, खानपान र अध्ययन अध्यापनसम्मका कामहरु सहयोगी दाताको भरमा सञ्चालनमा छन् । सोही खर्च जुटाउन र मन्दिरको संरक्षण र संबद्र्धन गर्नका लागि महायज्ञ गर्न लागिएको दीनबन्धु शास्त्री महाराजले जनाएका छन् ।

इटहरी र सुन्दरहरैंचा दुई पालिकाको सीमामा रहेको बुढी खोला किनारमा यो गौशाला रहेको छ । गौशालामा विभिन्न धार्मिक पर्वमा यस क्षेत्रमा श्रद्धालु भक्तजनहरुको भीड लाग्ने गरेको छ ।