भलिबल च्याम्पियनसिप : नेपाललाई हराउँदै बंगलादेश फाइनलमा

न्युजलय ११ पुस २०७९, सोमबार ०१:०६ मा प्रकाशित

काठमाडौं । नेपालमाथि सहज जित हात पार्दै घरेलु टोली बंगलादेश बंगबन्धु एसियन सेन्ट्रल जोन यू २३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।


बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।


पहिलो सेट १५–२५ ले गुमाएको नेपालले दोस्रो सेटमा एक समय १४–११ को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा २२–२५ ले सेट गुमाउन पुग्यो । तेस्रो सेटमा निरिह बनेको नेपालले १३–२५ ले गुमाउन पुग्यो ।


यससँगै नेपालले बंगलादेशसँग यस च्याम्पियनसिपमा दोस्रो पटक हार बेहोरेको छ । राउन्ड रोविन लिगमा पनि नेपालले ३–० कै सोझो सेटमा हार बेहोरेको थियो ।


अब बंगलादेशले उपाधिका लागि सोमबार किर्गिस्तानसँग खेल्नेछ । किर्गिस्तानले आइतबारै श्रीलंकालाई २९–२७, २५–२१ र २५–२० को सोझो सेटमा हराएर उपाधि नजिक पुगेको छ । बंगलादेशसँग पराजित नेपालले तेस्रो स्थानको लागि सोमबारै श्रीलंकासँग खेल्नेछ ।