धरानमा चोरीको आरोपमा तीन जना पक्राउ

न्युजलय १८ साउन २०८३, सोमबार ०२:२० मा प्रकाशित

धरान ।  धरान उपमहानगरपालिका–११ स्थित पप्पु साहको घरमा भएको चोरी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

आइतबार बिहान पप्पु साहको घरबाट सुन–चाँदीका गरगहना, मोबाइल फोन तथा नगद रकम चोरी भएको थियो। घटनापछि इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान तीव्र बनाउँदै तीन जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–३ बस्ने अन्दाजी २१ वर्षीया सम्झना बराइली, सोही वडाका अन्दाजी २२ वर्षीय सुमित बराइली तथा धरान–९ बस्ने अन्दाजी १९ वर्षीय मनिष विश्वकर्मा रहेका छन्।

इलाका प्रहरी कार्यालयका अनुसार पक्राउ परेका तीनै जनामाथि चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। चोरी भएका सुन–चाँदीका गरगहना, मोबाइल, नगद रकम बरामद गरिएको बताइएको छ ।

घटनासँग सम्बन्धित थप प्रमाण संकलन, बयान तथा प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान अगाडि बढिरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।