अक्स ब्रिजले विद्यार्थीसँगै अभिभावक र शिक्षकमा पनि पठन संस्कृती विकास गर्ने

न्युजलय ६ बैशाख २०८१, बिहिबार ०८:१७ मा प्रकाशित

इटहरी । इटहरीमा शैक्षिक संस्थाहरुको भीडमा अक्सब्रिज स्कुल नयाँ स्वरुपमा सञ्चालनमा आउने भएको छ । इटहरीको बजार नजिकै शान्त ठाउँमा सबै सुविधाले सम्पन्न विद्यालय सञ्चालन गर्न हामीले सहजिकरण गर्दैछौं । 


किड्स ग्लो स्कुलका लगानीकर्ताहरुसँग मिलेर इटहरी ४ मा उक्त स्कुल सञ्चालनमा ल्याउन लागिएको हो । स्कुलको सञ्चालन र व्यवस्थापनको लागि मन्टेश्वरी शिक्षा र तालिममा प्रख्यात सिटिएफ नेपालले स्कुल सञ्चालनमा सहयोग गर्दैछ । 


कक्षा ८ सम्म सञ्चालनमा आउने स्कुलको लागि यतिखेर पुर्वाधार निर्माणको काम भइरहेको छ भने नयाँ भर्नाको क्रमसमेत तीव्र बनेको छ । स्कुलले विद्यार्थीहरुलाई वास्तवमै व्यवहारिक र जीवनोपयोगी सीप सहितको शिक्षा दिने र दक्ष बनाउने दावी गरिएको छ ।


स्कुलमा क्यान्टिन, फुटसललगायत अडिटोरियम हलसमेतको व्यवस्था गरिएको छ । विद्यार्थीलाई आवश्यक ल्याब, लाइब्रेरी, खेलकुद र प्रतिभाविकासका लागि तालिम र आवश्यक ठाउँहरुको व्यवस्था गरिएको छ । यस्तै विद्यार्थीहरुमा हराउँदै गएको पठन संस्कृतिलाई ब्युँताउने र अध्ययनमा प्रेरित गर्ने योजना विद्यालयको छ ।


‘पठन संस्कृति विकास र विद्यार्थीको मनोविज्ञानको आधारमा पढाइका लागि सिटिएफको ल्याबोरोटरी स्कुल बनाउने गरी हामीले सहयोग गरेका छौं,’ सिटिएफ नेपालका सञ्चालक बद्री दाहालले भने, ‘विद्यार्थीसँगै शिक्षक र अभिभावकहरुमा पनि पठन संस्कृति विकास गर्न लागिपरेका छौं ।’


सिटिएफले अहिले काठमाडौ, भक्तपुर, कोहलपुर र इटहरीमा कार्यालय राखेर शिक्षकहरुको क्षमता विकासका साथै निजी तथा सरकारी विद्यालयलाई प्रभावकारी तरिकाले सञ्चालन गर्न योजना, तालिम तथा कार्यक्रम निर्माण र लागु गर्न सहयोग गर्दै आएको छ ।


‘स्कुलहरु, जो अहिले चलिरहेको परम्परागतभन्दा भिन्न धारबाट जान चाहन्छन्, उनीहरुले हामीसँग सहयोग माग्ने गरेका छन् र हामीले प्राविधिक सहयोग दिने गरेका छौं,’ दाहाल भन्छन्, ‘स्कुलको वातावरण र लेआउटदेखि हामीले सिकाउने तरिका अनि प्रयोग गर्ने सामाग्रीहरुसम्म ध्यान दिन सकियो भने विद्यार्थीले अझ राम्रोसँग सिक्न सक्छन् ।’