इटहरी । पत्रकार तारामणि सापकोटाको अनुसन्धानमूलक पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’को विमर्श कार्यक्रम इटहरीमा गरिएको छ ।
बागियान साहित्यिक पत्रिकाले पुस्तकको विमर्श कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले पुस्तकमाथि टिप्पणी गरेका थिए । उपप्राध्यापक राजेश विद्रोही, अधिवक्ता शोभा बजगाईं, पत्रकार राजन केडीले टिप्पणी गरेका थिए । उनीहरुले पुस्तकमा समावेशीताको कुरा सुक्ष्म तरिकाले व्याख्या गरिएको बताउँदै राज्यलाई घच्घच्याउन मद्धत पुगेको टिप्पणी गरेका थिए ।
आयोजक संस्था बागियान साहित्यिक पत्रिकाका सञ्चालकसमेत रहेका श्रीश्रीशा राईको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, प्रेस काउन्सिलका पूर्व अध्यक्ष भवानी बराललगायतले बोलेका थिए ।
पुस्तकले पत्रकारिता क्षेत्रमा महिला, आदिवासी जनजाती, मुस्लिम, दलित तथा उत्पीडित वर्गको सहभागिता कहाँ, कति छ भन्नेबारे तथ्यांकगत रूपमा व्याख्या गरिएको पुस्तकका लेखक सापकोटाले बताए । समावेशीताको पक्षमा वकालत गर्नेहरूले पुस्तक पढ्नुपर्ने उनको भनाइ छ ।
उनले थेसिस शैलीमा लेखेको पुस्तकमा तथ्यांकहरुबाट समावेशिताको अवस्थाबारे प्रकाश पारेका छन् ।