एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपः नेपालले आज बंगलादेशसँग खेल्दै

न्युजलय ९ जेठ २०८०, मङ्गलबार ०४:३१ मा प्रकाशित

काठमाडौं । एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप २०२३ अन्तरगत घरेलु टोली नेपालले मंगलबार(आज) आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र बंगलादेशबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा दिउँसो ३ बजेपछि हुने छ । पहिलो खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरिसकेको नेपाल बंगलादेशलाई पराजित गरी भारतसँग खेल्नुअघि नै समूह ‘ए’ बाट सेमिफाइनलमा पुग्न चहान्छ ।

बंगलादेश पहिलो खेलमा भारतसँग पराजित भएको थियो । आज नै यस समूहमा भारत र कीर्गिस्तानबीच बिहान १० बजे प्रतिस्पर्धा हुनेछ ।

यस्तै समूह बी अन्तर्गत श्रीलंका र काजकस्तानबीचको खेल मध्यान्ह १२ः३० बजे हुनेछ । उज्वेकिस्तान र माल्दिभ्सबीचको खेल साँझ ६ः३० बजे हुनेछ ।