संग्रह गर्नैपर्ने पुस्तक : ‘नेपालमा सुरुङयुद्व’

न्युजलय १२ चैत २०८०, सोमबार ०४:४९ मा प्रकाशित

भियतनाम युद्धको समयमा चीनसमर्थित भियतनामी जनताले सुरुङ युद्ध अभ्यासमा ल्याएका थिए । उनीहरुले अमेरिकासमर्थित समुहलाई आच्छु आच्छु बनाएका थिए । 


भियतनाम युद्ध २०३२ सालमा सकिएको थियो । त्यही सेरोफेरोमा एक जना नेपाली युवाले नेपालमा पनि सुरुङ युद्ध सुरु गरेका थिए । नेपाल ४६ सालको जनआन्दोलनको संघारमा थियो । त्यतीखेर सुरुङयुद्धको सुरुवात गर्ने युवा थिए, रत्नबहादुर बान्तवा । 


वान्तवाले इलामको चित्रेबाट सुरु गरेको सुरुङयुद्वले पूर्णता पाएन । सुरुङयुद्वकै क्रममा रत्नकुमार मारिए । तर, उनले दिएको बलिदानी खास रह्यो । 


उनै रत्नकुमारको जीवनमा आधारित रहेर तयार गरिएको पुस्तक नेपालमा सुरुङयुद्व बजारमा आएको छ । लेखक तथा पूर्व सञ्चारकर्मीद्वय अर्जुनकुमार उप्रेती र जसकुमार राईले पुस्तक लेखेका हुन् । पुस्तकमा सहिद रत्नकुमार बान्तवाको सङ्घर्ष र बलिदानको नालीबेली प्रस्तुत गरिएको छ ।


सुरुङ कसरी खनियो, के के कुरामा ध्यान दिइयो भन्ने कुरा व्याख्या गरिएको छ । सुरुङ खन्दा खन्दै कोही शंकास्पद मानिस आएभने एक पटक घण्टी बजाउनुपर्ने र शंकास्पद मानिस गएपछि तीनपटक घण्टी बजाउनुपथ्र्यो । जसकारण सुरुङ खन्न रोकिने र सुचारु हुने क्रमबारे पुस्तकमा उल्लेख छ ।

पुस्तकले पूर्वी पहाडी जिल्ला इलाममा भएको सुरुङयुद्वको तयारी, रत्नकुमार बान्तवाले नेपाली राजनीतिमा चालेको कदम, नेपालमा वर्तमान कम्युनिस्ट नेताहरूप्रतिको गुनासो लगायतलाई मिहिन ढंगबाट समेटेको छ । पुस्तकमा सरल र सहज भाषाको मिश्रण भएकाले एकै बसाइमा पढ्न सकिन्छ ।


पुस्तकमा उल्लेख भएअनुसार रत्नकुमारले आफ्नै घरबाट ६० फिट लामो सुरुङ खनेर बारीको कान्लामा निस्किने ढोका बनाएका थिए । सोही क्रममा २०३५ चैत २७ गते उनको हत्या गरियो । २०७२ सालमा उनलाई शहीद घोषणा गरियो ।


मञ्जरी पब्लिकेशनद्धारा प्रकाशित पुस्तकभित्र १२ वटा अध्याय छन् । १२ वटा सन्दर्भ सामाग्री, २० जनासँग अन्तर्वार्ता र २९ वटा अनलाइन तथा युट्युबका लिंक प्रयोग गरी पुस्तक तयार गरिएको छ । एक सय ५२ पृष्ठको किताबमा रत्नकुमार बान्तवाले कम्युनिस्ट आन्दोलनमा पु¥याएको चर्चासमेत गरिएको छ । यस्तै तात्कालिन कम्युनिष्ट आन्दोलनका सुखान्त, दुःखान्त घटनाहरुलाई सविस्तार व्याख्या गरिएको छ ।


उनै रत्नकुमारबाट प्रशिक्षित तथा सुरुङ खन्ने व्यक्ति ध्वजबहादुरको अनुभवसमेत पुस्तकमा छ । जहाँ उनले चरम निराशा व्यक्त गरेका छन् । कम्युनिस्ट नेताहरू चाकडी र चाप्लुसीमा मात्रै केन्द्रीत भएको उल्लेख गरेका छन् ।


पुस्तक : नेपालमा सुरुङयुद्व

लेखक : अर्जुनकुमार उप्रेती र जसकुमार राई

प्रकाशक : मञ्जरी पब्लिकेशन

पृष्ठ : १५२

मूल्य : २९५/-