सेयर बजार दोहोरो अङ्कले घट्यो

न्युजलय १४ चैत २०७८, सोमबार ०९:३३ मा प्रकाशित

काठमाडौं । शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार(आज) पनि दोहोरो अङ्कले घटेको छ । 

आइतबार ४१ अङ्कले घटेको नेप्से आज सोमबार २९.९८ अङ्कले घट्दै २५४२.२८ बिन्दुमा आइपुगेको हो । 

आज नेप्सेका १३ वटै उपसूचकमा गिरावट देखिएको छ । व्यापार समूह सबैभन्दा बढी २.४६ अङ्कले घटेको छ । यस्तै, फाइनान्स समूह २.३६ प्रतिशतले खस्केको छ । जीवन बीमा समूह पनि २.३१ प्रतिशतले घटेको छ । 

बजार घटेपनि आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिशतका हिसाबले सबैभन्दा बढी कमाएका छन् । प्रतिकित्ता ९० रुपैयाँ १० पैसाले बढेर ९९१ रुपैयाँ ५० पैसा पुगेको यो कम्पनीको शेयरमा सकारात्मक सर्किट नै लाग्यो ।