मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलमा नेपाल पुलिस र एपीएफ बिजयी

न्युजलय ३० जेठ २०८०, मङ्गलबार १२:१९ मा प्रकाशित

सुनसरी । मुख्यमन्त्री कप राष्ट्रिय महिला रात्रीकालीन भलिबल प्रतियोगितामा बिभागीय टिम नेपाल पुलिस र एपीएफ क्लबले बिजयी सुरुवात गरेका छन् । 

इटहरी रंगशालामा सोमबार राती सम्पन्न खेलहरुमा पुलिसले अर्को बिभागीय टिम त्रिभुवन आर्मी क्लबलाई र एपीएफले बागमती प्रदेशलाई पराजित गरेको छ । आफ्नो पहिलो खेलमा पुलिसले आर्मीमाथी ३–० को सोझो सेटको जित दर्ता गर्यो । पहिलो सेट २५–२० ले जीतेको पुलिसले दोस्रो सेट २५–१९ र तेस्रो सेटमा २५–२१ ले जित्यो । उक्त खेलको म्यानअफ द म्याच पुलिस क्लबकी कामना बिष्ट घोषित भइन ।

त्यसअघि हिजो सांझ भएको उद्धघाटन खेलमा  एपीएफले बागमती प्रदेशलाई ३–१ को सेटले पराजित गर्यो । पहिलो सेट २३–२५ ले गुमाएको एपीएफले त्यसपछी २५–२२, २५(१७ र २५–१८ को सहज जीत हात पारेपछी बागमती माथी पुनरागमन जीत दर्ता गरेको हो । उक्त खेलको म्यानअफ द म्याच पुलिस क्लबकी सरस्वती चौधरी घोषित भइन ।

पहिलो दिनको खेलसंगै समुह ए मा रहेको एपीएफले ३ अंक जोडेको छ भने समुह बी को पुलिसले पनि ३ अंक जोडेको छ । समुह ए मा एपीएफसंगै बागमती र कोशी प्रदेश रहेका छन् । समुह बी मा आर्मी सहित नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश रहेका छन् । दुबै समुहबाट समुह बिजेता र उपबिजेता सेमिफाइनलमा प्रतिष्पर्धा गर्न पाउने छन । 

सेमिफाइनल बिजेता बिच जेठ ३२ गते उपाधी भिडन्त हुनेछ । अत्याधिक गर्मीको मौसम रहेकाले प्रतियोगिता रातीको समयमा आयोजना गरिएको हो ।