यूएईमा अलपत्र परेका दुई नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता

न्युजलय ११ भदौ २०८०, सोमबार ०२:०४ मा प्रकाशित

काठमाडौँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए)  यूएईले थप दुई नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ ।

१८ महिनादेखि अलपत्र धनकुटाका कमल बहादुर घिमिरे जागिर परिवर्तन गर्ने क्रममा नयाँ कम्पनीको अफर लेटर दिएपछि पुरानो कम्पनीमा राजिनामा दिएका थिए ।

तर, पछि नयाँ कम्पनीले भिसा नदिएसम्म कम्पनी छोड्न नमिल्ने भन्दै भिसा क्यान्सिलेसन,पासपोर्ट नदिएको र ब्याकलिस्ट हालिदिएपछि अलपत्र परेका थिए । 

घिमिरेलाई खाना बस्न समस्या भएपछि एनआरएनए युएईका उपाध्यक्ष तथा राहत  उद्धार समिति संयोजक भीम मल्ल ठकुरी मार्फत एनआरएनएलाई निवेदन दिएका थिए ।

उक्त निवेदन पाए  लगत्तै एनआरएनए यूएईले छलफल र अनुमति अनुसार वास्तविक पीडित पहिचान र सम्बन्धित छानबिन गरी पीडित ठहरिएकोले पासपोर्ट लस्टको पुलिस रिपोर्ट बनाई अबुधाबीस्थित नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट जारी गरी हिमालयन एयरलाईन्सको उडानबाट नेपाल पठाइएको हो ।

यसैगरी, रोल्पाका भान बहादुर घर्ती मगर विगत ११ महिना पहिले कामको सिलसिलामा युएईको दुबई ट्याक्सी कर्पोरेशन कम्पनीमा बाईक ड्राईभरमा पुगेर ३ महिना अघि काम सुरु गरेका थिए ।

काम गर्ने क्रममा बाइक चलाउँदै गर्दा सडक दुर्घटनामा परी दाईने खुट्टा भाँचिएकोले सामान्य सर्जरी भएको, तर शल्यक्रिया नै गर्नुपर्ने भएकोले थप उपचारको लागि नेपाल जान पर्ने भएको र कम्पनीले भिसाको पैसा मागेकोले तत्काल घर  फर्किन नसकेर समस्यामा परेका थिए ।

त्यसपछि साथिहरुको सहयोगमा १ हजार ८ सय दिराम कम्पनीलाई तिरेर पासपोर्ट हात परेपनि उपचारको लागि नेपाल जान हवाई टिकटको लागि पैसा जुटाउन नसकेको र नेपालबाट मगरको वडा कार्यलयबाट सहयोग गरिदिनको एनआरएनएलाई निवेदन प्राप्त भएको थियो ।

निवेदन पछि एनआरएनएले पीडित पहिचान गर्दा उनी वास्तविक पीडित देखिएको र उनलाई पनि हवाई टिकट उपलब्ध गराई शनिबार हिमालयन एयरलाइन्सको उडान मार्फत नेपाल फर्काइएको एनआरएनए यूएईले जनाएको छ ।