एक वर्षमा भित्रियो १४ खर्ब ४५ बढी रेमिटेन्स

न्युजलय २ भदौ २०८१, आइतबार ०८:२४ मा प्रकाशित

काठमाडौं । गत आर्थिक वर्ष २०८०–८१ भरीमा १४ खर्ब ४५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।

१९ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।

असार महिनामा मात्रै एक खर्ब १७ अर्ब ८० करोड रूपैयाँ रेमिटेन्स भित्रिएको हो। यो जेठ महिनामा भित्रिएकोभन्दा करिब ११ अर्ब रूपैयाँले कम हो।

वार्षिक आधारमा भने १६.५ प्रतिशतले रेमिटेन्स बढेको हो। गत आर्थिक वर्ष २०७९–८० मा १२ खर्ब ४० अर्ब रेमिटेन्स भित्रिएको थियो।

रेमिटेन्स भित्रिने दर बढेसँगै बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि भइरहेको छ। बैंकहरूमा संकलन भएको निक्षेप वार्षिक सात खर्ब ४२ अर्ब रूपैयाँले बढेको छ। निक्षेप १३ प्रतिशतले बढेको हो।