उवासंघ इटहरीलाई साझा संगठन बनाउने भण्डारीको प्रयास, मनोनयनदेखि शुल्क छुटसम्म

न्युजलय ७ असोज २०८३, बुधबार ११:०९ मा प्रकाशित

इटहरी । उद्योग वाणिज्य संघ इटहरीको वरिष्ठ उपाध्यक्षमा व्यवशायी विष्णुनारायण डाँगी मनोनित भएका छन् । यस्तै सदस्यमा दुर्गा थापा, सुरेश कार्की र डुन्डीराज गुरागाईंलाई समेत मनोनित गरिएको छ ।


सदस्य व्यवशायीहरुमध्येबाट मनोनित गर्ने प्रावधानअनुसार अध्यक्ष गायत्री कटुवाल भण्डारीले उनीहरुलाई मनोनित गरेकी हुन् । सँगै बधाई दिँदै उनले संस्थाको हित, गरिमा र समग्र उद्योगी–व्यवसायीहरूको हितका लागि आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको बताएकी छिन् । 


गत उवासंघ इटहरीको चुनावमा छुट्टै प्यानल बनाएर अध्यक्षमा उठेकी भण्डारीले जितेसँगै संघलाई साझा संघ बनाउने प्रयास थालेकी छिन् । विगतमा कुनै पार्टी निकट व्यवशायीले जितेपछि एकपक्षीय भएको आरोप लाग्ने गरेकोमा यो पटक उनले सबै राजनीतिक दल निकट व्यवशायीहरुलाई समेटेर साझा संघ बनाउन खोजेको सन्देश दिएकी छिन् । 


वरिष्ठ उपाध्यक्ष डाँगी नेपाली काँग्रेस निकट हुन् । उनी गत चुनावमा उम्मेदवार हुन पाएनन् । दुर्गा कार्की रास्वपामा आबद्ध छन् । उनी भण्डारीको प्यानलबाट उठेपनि पराजित भएका थिए । यस्तै कार्की र गुरागाई नेकपा एमालेसम्बद्ध व्यवशायी हुन् । 


यस्तै संघले सकेसम्म धेरै व्यवशायीलाई समेट्ने योजनाअनुसार सदस्यता वृद्धि गर्ने अभियान थालेको छ । आजीवन र साधारण सदस्यता शुल्क धेरै भएको र सामान्य व्यवशायीहरु आबद्ध हुन नसकेको गुनासोपछि संघले भारी छुटमा सदस्यता वितरण सुरु गरेको हो । जसअन्तर्गत आजीवन सदस्य बन्न चाहनेले ४० प्रतिशत छुट पाउनेछन् । यो छुट ४५ दिनका लागि दिइएको छ । 


यस्तै अर्को सूचना जारी नभएसम्मका लागि विगतको नवीकरण सदस्यता शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।