दुर्गा प्रसाईको मेडिकल कलेजलाई सम्बन्धनको बाटो खुल्यो

न्युजलय १२ चैत २०८०, सोमबार ०९:०९ मा प्रकाशित

काठमाडौँ । सर्वोच्च अदालतको आदेशले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धनको बाटो खुलेको छ । 


झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजको सम्पूर्ण भौतिक संरचना निर्माण भएपनि पठनपाठनका लागि सम्बन्धन नपाएका प्रसाईंलाई सर्वोच्च अदालतको पछिल्लो आदेशले राहत मिलेको हो । 


सर्वोच्च अदालतले बुधबार प्रसाईंको अर्बौँ लगानी भइसकेको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो। न्यायाधीशहरू डा.कुमार चुडाँल र सारङ्गा सुवेदीको संयुक्त इजलासले प्रक्रिया पुगेको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन नरोक्न आदेश जारी गरेको हो। सोमबार आदेश जारी भएपनि फैसला विस्तृत विवरण आइसकेको छैन ।


सबै पूर्वाधार तयार गर्दा पनि आफ्नो मेडिकल कलेजले सम्बन्धन नपाएको भन्दै प्रसाईले काठमाडौँ विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । 


प्रसाईंले मेडिकल कलेज सञ्चालन गर्न नदिएको भन्दै केही समयअघि सबै भौतिक संरचना भत्काइदिने चेतावनी समेत दिएका थिए ।