डिजिटल मुद्रा प्रयोग गर्ने पहिलो अफ्रिकी मुलुक बन्यो नाइजेरिया

न्युजलय ९ कार्तिक २०७८, मङ्गलबार ०८:११ मा प्रकाशित

काठमाडौं । नाइजेरिया डिजिटल मुद्रा प्रयोग गर्ने पहिलो अफ्रिकी मुलुक बनेको छ। नाइजेरियाले डिजिटल मुद्रा ईनाइरा सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार नाइजेरियाले कारोबारको खर्च र आधिकारिक वित्तीय प्रणालीमा आफ्नो सहभागिता बढाउन भन्दै डिजिटल मुद्रालाई मान्यता दिने निर्णय गरेको हो।


नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले टेलिभिजनबाट सन्देश जारी गर्दै डिजिटल मुद्राको प्रयोग र यसको ब्लकचेन प्रविधिले नाइजेरियाको अर्थतन्त्रमा महत्वपूर्ण सुधार ल्याउन सक्ने विश्वास व्यक्त गरेका छन्।

 

उनले अबको १० वर्षमा नाइजेरियाको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) २९ अर्ब अमेरिकी डलर पुग्ने विश्वास व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का अनुसार अहिले नाइजेरियाको जीडीपी ४८ करोड डलर छ। 


यसअघि गत फेब्रुअरीमा नाइजेरियाको केन्द्रीय बैंकले वित्तीय संस्थाहरुलाई क्रिप्टोकरेन्सीमा कारोबार गर्न नपाउने नियम ल्याएको थियो। अहिले नाइजेरियाले ल्याएको डिजिटल मुद्रा ईनाइराको भाउ नाइजेरियाको मुद्रासँग मिल्दो छ। डिजिटल मुद्राले आगामी दिनमा वैदेशिक व्यापारमा सहयोग पुग्ने नाइजेरियाको केन्द्रीय बैंकले बताएको छ।  केन्द्रीय बैंकका अनुसार ईनाइराको भाउ सधैं यथावत रहनेछ।