झापा गोल्डकपको तयारी पूरा

न्युजलय २० फाल्गुण २०७८, शुक्रबार ०३:०० मा प्रकाशित

झापा । आगामी शनिबारदेखि सुरु हुन लागेको पाँचौँ संस्करणको झापा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । झापा गोल्डकप आयोजक समितिले बिहीबार पत्रकार सम्मलेलन आयोजना गर्दै गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । 


मोफसलकै प्रतिष्ठित झापा गोल्डकप बिर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा हुनेछ । गोल्डकपका लागि रंगशालामा १२ हजार अट्ने प्यारापिट निर्माण, खेलमैदान सम्याउनेलगायतका काम सकिएको छ । चार वर्षसम्म लगातार भएको ०७६ र ०७७ मा कोरोना महामारीले हुन नसकेको यो गोल्डकपका लागि एक करोड ४० लाख खर्च लाग्ने आयोजकको अनुमान रहेको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए । झापा गोल्डकपलाई नेपाल आइस बियरले मुख्य प्रायोजन गरेको छ । 


गोल्डकप गरेर बाँकी रहेको रकमले खेलाडी उत्पादनका लागि एकेडेमी स्थापना गर्ने योजना रहेको उनले बताए । उनले यो गोल्डकप बिर्तामोडको मात्र नभई झापाकै भएको दाबी गरे । 


प्रतियोगितामा घरेलु टोली झापा–११ सहित आठ वटा ए डिभिजन क्लब र दुई विदेशी टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, थ्री स्टर क्लब, संकटा क्बल, घरेलु टोली झापा–११ फुटबल क्बल, एपिएफ फुटबल क्बल, जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लबको सहभागिता रहनेछ ।


पाँचौँ संस्करणको झापा गोल्डकप २१ देखि ३० फागुनसम्म हुनेछ । गोल्डकपको विजेताले विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने अध्यक्ष बस्नेतले जानकारी दिए । प्रतियोगिताको ‘मस्ट भ्यालुएबल प्लेयर’ले एक थान मोटर साइकल पाउनेछ । 


यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगर २१ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद ९ हजार ९९९ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।