इटहरी । युवा उद्यमी मञ्च (एनवाईइएफ) सुनसरीले कलेजका विद्यार्थीलाई बिजनेस प्रतियोगिता गराउने भएको छ ।
इटहरीका ६ वटा कलेजका विद्यार्थीलाई प्रतिस्पर्धा गराएउने गरी कलेजहरुसँग सम्झौता गरेकोहो । ग्रिन पिस लिङ्कन कलेज, कस्तुरी, कोसी, विश्व आदर्श, सुष्मा गोदाबारी र इटहरी इन्टरनेशनलसँग यस्तो सम्झौता गरिएको हो ।
मञ्चको उद्देश्यमा रहेको नेशन फस्स अन्तरगत नेपालमै केही गर्नको लागि युवालाई अभिप्रेरित गर्ने योजन अगाडी बढाएको अध्यक्ष चन्द्र देवकोटाले बताए । केही सिक्दै र आइडिया सेयर गर्दै अगाडी बढ्ने योजनाअनुसार काम भइरहेको उनले जानकारी दिए । कार्यक्रमबारे जानकारी गराउँदै उनले भने, ‘सुरुमा विद्यालयभित्र समूह बनाएर प्रतिस्पर्धा हुने र समूहबाट उत्कृष्ट हुनेले अन्य कलेजसँग प्रतिस्पर्धा गर्न पाउने छन् । यसरी सर्वोत्कृष्ट आइडिया मन पराउनेले आइडिया खरिद गर्न सक्ने छन् ।’
सम्झौतापछि बोल्दै कस्तुरी कलेजका प्राचार्य कमलेश शर्मा पौडेलले मञ्चको कारण विद्यार्थीलाई नेपालमै केही गरौँ भन्ने भावना विकाश हुने विश्वास व्यक्त गरे । सफलता मात्र देख्ने युवाहरूलाई मञ्चले परिश्रम र मेहनत बारे प्रस्ट पार्ने बताउँदै उनले पढेलेखेको भन्दा परिश्रमी युवाको खाँचो भएको बताए ।
सुष्मा गोदावारी कलेजका प्राचार्य बोधराज नेपाल मञ्चले कलेजमा गर्न लागेको प्रतिस्पर्धाबाट विद्यार्थीले उद्यमशीलतामा हुने वित्तीय र कानुनी झन्झट बुझ्ने बताउँछन् । युवालाई नेपालमै स्टार्टअप बिजनेस गर्नको लागि यस्ता कार्यक्रमहरू प्रभावकारी हुने उनको धारणा छ ।