काठमाडौँ । भारतको दक्षिणी राज्य तेलङ्गानाको एक औषधि कारखानामा सोमबार भएको ठूलो विस्फोट र आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३६ पुगेको अधिकारीहरूले बताएका छन् ।
हैदराबादबाट करिब ५० किलोमिटर टाढाको औद्योगिक क्षेत्रमा भएको दुर्घटना स्थलबाट दमकलकर्मीहरूले ३४ जना कामदारका जलेका शवहरू फेला पारेको राज्यका दमकल सेवा निर्देशकले बताएका छन् ।
अन्य दुई कामदारको जलेको अवस्थामा मृत्यु भएको र उनीहरूलाई अस्पतालमा मृत घोषित गरिएको उनले बताए । उनका अनुसार थप कामदारहरू फसेका छन् कि छैनन् भनेर पत्ता लगाउन सिगाची इन्डस्ट्रिजको नष्ट भएको औषधि एकाइको भग्नावशेष हटाउने काम भइरहेको छ ।
करिब तीन दर्जन घाइते कामदारलाई अस्पतालमा भर्ना गरिएको छ ।
कारखानाको स्प्रे ड्रायर युनिटमा सोमबार विस्फोट र त्यसपछिको आगलागी भएको रिपोर्ट गरिएको थियो, जुन कच्चा माललाई औषधि बनाउनका लागि फाइन पाउडरमा प्रशोधन गर्न प्रयोग गरिन्छ । राज्यका स्वास्थ्यमन्त्रीले विस्फोट हुँदा कारखानाभित्र एक सय आठ कामदार रहेको जानकारी दिए ।