काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको प्रमाण सन्दीपका वकिलले अदालतमा पेश गरेका छन् ।
सन्दीपका एक कानुन व्यवसायी मुरारी सापकोटाले दिएको जानकारीअनुसार किशोरीको जन्म २०६१ साल असार १८ गते भएको जन्मदर्ताको प्रमाण फेला परेको छ । यही प्रमाणलाई उनीहरुले अदालतमा पेश गरेका हुन् ।
किशोरीको नागरिकतामा भने जन्ममिति २०६२ जेठ १८ गते उल्लेख गरिएको छ । यसको आधारमा उनी १७ वर्षकी हुन् भनेर उनलाई नाबालिग भनिएको हो ।
तर, सन्दीपका वकिलले उनी नाबालिग नभएको प्रमाण आफूहरुसँग भएको बताएका छन् ।
यसअघि सन्दीपले बयानमा पनि किशोरीले आफू १९ वर्ष पुगिसकेको बताएको दाबी गरेका थिए । उनले दिएको बयानमा किशोरीले आफूसँग दुई वटा जन्मदर्ता भएको बताएको दाबी थियो ।