उद्योगी राजेन्द्र राउतको समुहले अढाई अर्बको लगानीमा अस्पताल बनाउँदै

न्युजलय ४ पुस २०८०, बुधबार ०८:४८ मा प्रकाशित

विराटनगर । मोरङको बुढीगंगा १ मा अढाई अर्बको लगानीमा दुई सय शय्याको अस्पताल बन्ने भएको छ । आरआर इन्टेरनेशनल नाम दिइएको अस्पताल शिवम् अर्गनाइजेसनले बनाउन लागेको हो । 


कम्पनिका अध्यक्ष राजेन्द्र राउतले बुधबार अस्पताल भवनको शिलान्यास गरेका छन् । मल्टी विशेषज्ञ सर्भिसको माग पूरा गर्ने उद्देश्यले अढाई अर्बको लगानीमा अस्पताल सञ्चालन गर्न लागिएको राउतले बताए । सुरुवातमा सय शय्याको मल्टी स्पेस्लिष्ट अस्पताल सञ्चालनमा ल्याएर चाँडै तीनसय शय्यामा विस्तार गर्ने तयारी गरिएको राउतको भनाइ छ । 


उनले दुई वर्षभित्रमा अस्पताल बनाएर सञ्चालमा ल्याइने बताए । त्यसैगरी अस्पतालसहित मेडिकल, पारामेडिकल र नर्सिङ कलेज पनि सञ्चालन गर्ने उनले जानकारी दिए ।


नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष समेत रहेका राउतको लगानीमा जुत्ता चप्पल, सिमेन्ट, क्लिङकर लगायतका उद्योग सहित विभिन्न दर्जन बढी व्यवसायिक कारोबार सञ्चालनमा छ । उनले चाँडै काठमाडौं र विराटनगरमा आफ्नो समूहले पाँच तारे होटल पनि सञ्चालनमा ल्याउने बताए ।