सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा हुँदा दुई जनाको मृत्यु

न्युजलय २ असोज २०८१, बुधबार ०३:५५ मा प्रकाशित

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा आज ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

खाँदबारी किमाथांका सडक खण्डको वरुणबाट खाँदबारी आउने क्रममा प्रदेश १–०२००३ त १४३७  नम्बरको ट्रयाक्टर भीरबाट खस्दा त्यसमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक १९ वर्षीय किरण श्रेष्ठ र सहचालक १७ वर्षीय उदित श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्रयाक्टर भीरबाट करिब तीन सय मिटर तल अरुण नदीमा खसेको हो । नदीले बगाएको उक्त ट्रयाक्टरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।