आज विश्व कुष्ठरोग दिवस मनाइँदै

न्युजलय ९ माघ २०७८, आइतबार ०२:०२ मा प्रकाशित

काठमाडौं । जनवरी महिनाको अन्तिम आइतबार आज । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाइने गरिन्छ । त्यसैले आज नेपालमा पनि ६९‍औं विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 


सन् १९५४ देखि कुष्ठरोगविरुद्ध जनचेतना फैलाउने उद्देश्यले विश्वभर यो दिवस मनाउन थालिएको हो। 


नेपालले सन् २०१० मा नेपालबाट कुष्ठरोग हराएको घोषणा गरेको थियो । यद्यपि नयाँ बिरामी भने देखिन थालेका छन् । सरकारी तथ्यांक अनुसार हरेक वर्ष तीन हजारभन्दा बढी कुष्ठरोगका बिरामी थपिने गर्दछन् ।


माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु ब्याक्टेरियाको संक्रमणले कुष्ठरोग लाग्ने गर्छ । 


कुष्ठरोगको समयमै उपचार नभएको खण्डमा बिरामी अपांग हुनेमात्र नभई ज्यानै गुमाउने सम्भावना हुने चिकित्सकहरू बताउँछन् । 


नेपालका १७ जिल्लाबाट अझै यो रोग हट्न सकेको छैन । 


उदयपुर, रुपन्देही, महोत्तरी, बर्दिया, रौतहट, मोरङ, नवलपरासी पश्चिम, सिरहा, कपिलवस्तु, अछाम, कैलाली, झापा, सर्लाही, पर्सा, बाँके, बारा र धनुषामा अझै पनि कुष्ठरोग हट्न नसकेको हो ।


बिरामीमाथि हुने सामाजिक विभेदका कारण पनि रोग नियन्त्रण चुनौतीपूर्ण हुँदै गएको  चिकित्सकहरू बताउँछन् ।