फिदिम । जिल्ला अस्पताल पाँचथरमा उपचाररत एक बालिकाको मृत्यु गएपछि अस्पतालमा तनाबग्रस्त भएको छ । इन्जेक्सन लगाए लगत्तै १३ बर्षीया बालिका कृष्टिना थाम्सुहाङको मृत्यु भएपछि मृतकका आफन्तले छानबिनको माग गरेका छन् ।
फालेलुङ गाँउपालिका–८ स्थायी घर भई फिदिम नगरपालिका–२ पल्लोटारमा बसोबास गर्दै आएका मृतक बालिका कृष्टिनाका बुवा कमल थाम्सुहाङले स्वास्थ्यकर्मीको लापरबाहिका कारण छोरीको ज्यान गएको आरोप लगाएका छन् ।
सामान्य खोकी र ज्वरो आएपछि उपचारका लागि मंगलबार बिहान कृष्टिनालाई अस्पताल ल्याएको मृतक बालिकाका काकाले बताए । बुधबार बिहान कृष्टिनाले हाँस्दै बदाम र पाउरोटी खाएकी थिइन् । तर, स्वास्थ्यकर्मीले कृष्टिनालाई इन्जेक्सन लगाउने बित्तिकै उनी बेहोस बनिन् । बेहोस बनेकी कृष्टिनाको केही समयमै ज्यान गएको थियो ।
अस्पताल आएपछि स्वास्थमा सुधार आएर आजै डिस्चार्च गर्न लागिएकी बालिकालाइ राउण्डमा आएका चिकित्सकले सुइ लगाइदिए लगत्तै निधन भएको हो । बेडमा आमासँग गफ गर्दै खाजा खाएकी कृष्टिना सुइ लगाउने बित्तिकै चिच्याएर बेहोस भएरको २ मिनेट नबित्दै निधन हुनुमा स्वास्थकर्मीको लापरबाहि भएको काकाको भनाई छ ।
अस्पतालले चित्तबुझ्दो जवाफ सहित घट्नाको यथार्थ सार्वजनिक नगरेसम्म शव नबुझ्ने उनीहरुको भनाई छ । स्वास्थकर्मीहरुले भने एनाफाइलाटिक सकका कारण बालिकाको निधन भएको हुनसक्ने बताएका छन् ।