पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु, एक जना घाइते

न्युजलय १९ असार २०८०, मङ्गलबार १२:१८ मा प्रकाशित

बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

पाणिनी गाउँपालिका–१ पणेनाको गोवनपानीमा गंगा रास्कोटीको घर पुरिँदा उनका तीन जना नातिनातिनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया अञ्जना रास्कोटीको रहेका छन्।

घटनामा १४ वर्षीय सचिन रास्कोटी सामान्य घाइते भएका छन्। मृत्यु हुने बालबालिका दाजुभाईका छोराछोरी हुन्।

मंगलवार बिहान साढे ६ बजेको समयमा अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले टिनको छाना भएको दुई तले घरको कुनापट्टिको आधा भाग भत्किएको थियो। बिहानको समयमा बालबालिका सुतिरहेको अवस्थामा पहिरोमा पुरिएको प्रहरीले जनाएको छ।

परिवारका अन्य सदस्य बिहानको समयमा घरबाहिर गोठमा काम गरिरहेकाले बाँच्न सफल भएका छन्। घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए।