काठमाडौँ । भारतबाट सात जना बालकको उद्धार गरिएको छ । उनीहरूको उद्धार गरी परिवारको जिम्मा लगाइएको छ ।
जनकपुरधामस्थित बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रले मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जितकुमार यादवको उपस्थितिमा भारतबाट उद्धार गरी नेपाल ल्याइएका बालकहरूलाई अभिभावकको जिम्मा लगाइएको हो ।
तीन महिनाअघि भारतको चेन्नइमा काम गर्नका लागि जाने क्रममा भारत विहारको मुजफ्फरपुर रेल्वे स्टेशन पुगेका ती बालकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर सोही ठाउँको बाल कल्याण समितिको जिम्मा लगाएको थियो ।
भारतबाट उद्धार गरेर ल्याइएका बालकहरूमा सर्लाहीका तीन तथा महोत्तरीका चार रहेका छन् । उनीहरू कामको खोजीका क्रममा भारत पुगेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।