इटहरी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुनका लागि प्रदेश १ बाट खेलाडीहरु गण्डकी प्रदेशका विभिन्न जिल्ला जाने क्रम जारी छ ।
इटहरीमा भेला भएका विभिन्न खेलका खेलाडीहरु त्यसतर्फ लागिरहेका छन् । तर खेलाडीहरुलाई पठाउनुअघि राखिएको होटलको खाने बस्ने खर्च र त्यहाँसम्म पुग्नको लागि दिइने गाडीभाडामा अनियमितता भएको गुनासो खेलाडी तथा प्रशिक्षकहरुले गरेका छन् ।
इटहरीस्थित एक होटलमा राखिएका खेलाडी, खेल प्रशिक्षक र व्यवस्थापकले आफूले पाउने पैसामा अनियमितता भएको आरोप लगाएका छन् । खेलाडीहरुलाई चार दिन बस्ने खाने खर्चवापत दैनिक एक हजार ३६० रुपैया र गाडीभाडा वापत दुई हजार ५० रुपैया दिने भनेर हस्ताक्षर गराइएको छ ।
तर उक्त रकम खेलाडीहरुले भने पाउँदैनन् । ‘सबै पैसा खेलकुद समितिले लिएर होटल र गाडीको पैसा तिरिदिने गरेको छ,’ सितेरियो कराँते प्रदेश १ का व्यवस्थापक कुवेर राईले भने, ‘होटललाई दिने पैसा र गाडीभाडामा अनियमितता भइरहेको छ ।’
उनकाअनुसार आफूहरुलाई सुनकोशी होटलमा बस्न भनिएको थियो । एउटै कोठामा ६ जनासम्म खेलाडी राखिएको छ । खानामा सबैलाई अनिवार्य एकै किसिमको खानाको व्यवस्था गरिएको छ । ‘कसैलाई अलि डाइट चाहिन्छ, कसैलाई तौल घटाउनुपर्छ,’ उनले भने, ‘तर सबैलाई खाए खा नखाए घिच् भनेझैं गरेर खाना दिइन्छ ।’ उनले खानाको दररेट पनि आफूहरुलाई नदिइएको बताए ।
उनले खेलाडीले हस्ताक्षर गरेको पैसा खेलाडीले नै पाउनुपर्ने र त्यसैबाट उसले आफूले खाएको खानाको पैसा आफै तिर्न पाउनुपर्ने बताए । उनकाअनुसार सितेरियो कराँतेका मात्रै १७ जना पुरुष र १२ जना महिला खेलाडीहरु छन् ।
अन्य खेलका खेलाडीहरुलाई पनि होटलहरुले सोही तरिकाले व्यवस्थापन गरेको र सबैको पैसा एकमुष्ठ काटेको बताए । यस्तै गाडीभाडामा समेत अनियमितता गरी लोकल गाडीलाई पोखरासम्म खेलाडी लिएर जान भनिएको उनले जानकारी दिए ।
खाना बस्न कस्तो छ, प्रशिक्षण कसरी हुँदैछ भनेर कोही पनि बुझ्न नआएको बताउँदै उनले भने, ‘पैसा दिने र खर्च गर्ने सवालमा मात्र चासो दिइएको छ, कमिसनको खेलमा धेरै अनियमितताहरु भएका छन् ।’