इटहरी । १६औं संस्करणको इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा साविक विजेता मछिन्द्र फुटबल क्लब प्रवेश गरेको छ।
मंगलबार राति भएको दोस्रो क्वाटरफाइनल खेलमा झापा ११ फुटबल क्लबलाई सडेनडेथमा ८–७ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
इटहरी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।
पेनाल्टीमा पनि दुवै टोलीले ५–५ गोल गरेपछि खेल सडेनडेथमा पुगेको हो। सडेनडेथमा झापाका विशाल मादीको प्रहार आकाशिएपछि मछिन्द्रको जित सुनिश्चित भएको थियो।
अब मछिन्द्रले सेमिफाइनलमा युवा समाज मोरङसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ। युवा समाज उद्घाटन खेलमै जस्टजोन एफसी नाइजेरियालाई हराउँदै अन्तिम चारमा पुगिसकेको छ।
इटहरी गोल्डकपमा दोस्रो पटक सहभागी मछिन्द्र र झापा ११ बीच अघिल्लो संस्करणमा पनि क्वाटरफाइनलमा भेट भएको थियो। जसमा मछिन्द्रले १–० को जित निकालेको थियो।
बुधबार हुने तेस्रो क्वाटरफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबले सातदोबाटो युथ क्लब, ललितपुरसँग प्रतिस्पर्धा गर्नेछ।