बस दुर्घटना हुँदा २० जनाको मृत्यु, २१ घाइते

न्युजलय २१ बैशाख २०८१, शुक्रबार ०६:३६ मा प्रकाशित

  काठमाडौँ । पाकिस्तान कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस दुर्घटना भई खोलामा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। २१ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार शुक्रबार बिहान डायमरको काराकोरम राजमार्गको यशोखल क्षेत्रमा बस दुर्घटना भएको थियो । रावलपिन्डीबाट गिलगिटतर्फ गइरहेको बसमा कम्तीमा ३८ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि दुर्घटनास्थलमा उद्धार टोली पठाइएको छ भने घाइते तथा शवलाई चिलासको अस्पतालमा लगिएको छ । स्वास्थ्य विभागका निर्देशकका अनुसार मृतकमा तीन जना महिला रहेको जियो न्युजले जनाएको छ ।

तिव्र गतिका कारण मोड लिने क्रममा बस दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।