विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सोचेजति सफल हुन नसकेको स्वीकार गरेका छन्।
विराटनगर विमानस्थलमा बिहीबार साँझ संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै दाहालले गठबन्धनको सरकार भएका कारण आफूले सोचेजति सफलता प्राप्त गर्न नसकेको बताएका हुन् । उनले भने, ‘तर, यो कन्डिसनमा जेजति काम सुरुदेखि अहिलेसम्म भएका छन्। मैले सुशासन, सामाजिक न्याय र समृद्धिका निम्ति भनेर जे भनेको थिएँ। गरेका कामहरू सफल भए भन्ने हो। त्यसका ऐतिहासिक रेकर्डहरू बनेका छन् ।’
सरकारले सुरुदेखि गरेका काम र प्रत्येक घटना हेर्दा कैयौं ऐतिहासिक रेकर्डहरु बनेको जिकिर प्रधानमन्त्रीको छ।
उनले एनसेल काण्डमा अनावश्यक कचिङ्गल खडा गर्दै भ्रम सिर्जना गरिएको पनि बताए । उनले मन्त्रालयहरूले गरेका काम कारबाहीको समीक्षा अहिले भइरहेको पनि बताए ।