इटहरी । इटहरीको फुजिसान सगरमाथा बोर्डिङ स्कुलले विद्यार्थीको सहभागितामा धान रोपाइँ कार्यक्रम गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रमेश कुमार शाहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले विद्यालय परिसर नजिकैको खेतमा धान रोपेका थिए।
कार्यक्रममा परम्परागत रोपाइँसँगै आधुनिक कृषि प्रविधिको प्रयोगसमेत गरिएको थियो। विद्यार्थीहरूले कक्षाकोठामा हासिल गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्दै कृषि प्रविधि, परम्परागत खेतीपाती र सिर्जनशील अभ्यासबारे प्रत्यक्ष अनुभव लिएका थिए।
विद्यालयका प्रबन्ध निर्देशक राकेश श्रेष्ठले शिक्षा पाठ्यपुस्तकमा मात्र सीमित नभई व्यवहारिक सिकाइसँग जोडिनुपर्ने बताए। विद्यार्थीलाई व्यवहारिक अनुभव दिलाउने उद्देश्यले विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिएको उल्लेख गर्दै उनले पढाइभन्दा पनि सिकाइ महत्वपूर्ण हुने धारणा व्यक्त गरे।
वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठले विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयले अपनाएको तौर तरिका व्यवहारिक रहेको भन्दै प्रसंसा गरेका थिए । उनले विद्यालयलाई सबैले सहयोग गर्नुपर्ने धारणा राखे ।
प्रमुख अतिथि रमेश कुमार शाहले व्यवहारिक, प्रविधिमैत्री र आत्मनिर्भर नागरिक निर्माणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताए ।
विद्यालयका अनुसार राष्ट्रिय धान दिवसको अवसरमा विगत चार वर्षदेखि नियमित रूपमा विद्यार्थीकै सहभागितामा धान रोप्ने कार्यक्रम सञ्चालन हुँदै आएका छन् । बालबालिकामा कृषिप्रति सम्मान, आधुनिक कृषि प्रविधिप्रति रुचि र व्यावसायिक सोचको विकास गराउने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइएको विद्यालयले जनाएको छ । विद्यालयले स्टिम शिक्षा पद्धती अबलम्बन गरेको छ । जसले पढाइलाई व्यवहारसँग जोडेर सिकाउने गर्छ । विद्यालयमै बालबालिकालाई खाना बनाउने, विरुवा गोडमेललगायत व्यावहारिक सिकाइमा प्रोत्साहित गर्ने गरिएको छ ।
कार्यक्रममा इटहरी उपमहानगरपालिका–२० का वडाध्यक्ष मणिराम श्रेष्ठ, प्याब्सन कोशी प्रदेश अध्यक्ष सुमित थापा, कृषि अनुसन्धान निर्देशनालय तरहराका प्राविधिक अधिकृत विनोद निरौला, नेवा पुचः इटहरीका उपाध्यक्ष गोपाल श्रेष्ठ, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीय कृषकहरूको सहभागिता रहेको थियो ।