आईपीएलको फाइनलमा चेन्नई

न्युजलय १० जेठ २०८०, बुधबार ११:५७ मा प्रकाशित

काठमाडौं । चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई १५ रनले पराजित गर्दै चेन्नई आईपीएल २०२३ को फाइनल प्रवेश गरेको हो।

घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निार्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो। चेन्नईले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको गुजरात १ सय ५७ रनमा समेटिएको हो।

चेन्नाईका ओपनर ऋतुराज गायकवाडले ४४ बलमा ७ चौका र १ छक्कासहित ६० रन बनाए। 

चेन्नईका अर्का ओपनर डेभोन कन्वेले ३४ बलमा ४ चौकाको सहयोगमा ४० रन बनाए। अजिंक्या रहाणे र अम्बाती रायुडू समान १७–१७ रनमा आउट भए। कप्तान महेन्द्रसिंह धोनी एक रनमै क्याच आउट भए। रविन्द्र जडेजा १६ बलमा २ चौकासहित २२ रनमा शामीको बलमा बोल्ड भए। मोईन अली ४ बलमा १ छक्कासहित ९ रनमा अविजित रहे।

आईपीएलको प्लेअफमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। यो खेलको विजेताले फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा गुजरातसँग शुक्रबार खेल्नेछ। आइपिएलको फाइनल आइतबार अहमदाबादमा हुनेछ।