साफ महिला च्याम्पियनसिपमा भुटानको एतिहासिक जित

न्युजलय २५ भदौ २०७९, शनिवार ०२:२१ मा प्रकाशित

काठमाडौँ । काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिप फुटबलमा भुटानले दोस्रो खेलमा पहिलो जित निकालेको छ।


भुटानले छैटौं साफमा आएर पहिलो पटक जित समेत आत्मासाथ गर्न सफल भयो। अघिल्ला पाँच संस्करणमा भुटान कुनै पनि देशविरुद्ध जित निकाल्न सकेको थिएन।

 

शुक्रबार दशरथ रंगशालामा भएको खेलमा भुटानले श्रीलंकामाथि ५-० को फराकिलो जित निकाल्दै सेमिफाइनल संभावना कायम राखेको हो। यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपालसँग ४-० ले पराजित भएको भुटानले दोस्रो खेलमा श्रीलंका विरुद्व भने रवाफिलो जित निकाल्यो।


पहिलो हाफमा १-० को अग्रता बनाएको श्रीलंकाले दोस्रो हाफमा भने थप ४ गोल गरेको थियो। भुटानका लागि डेखी लाजोमले दुई गोल गर्दा न्याम्गेल डेमा, छिरिङ लाडेन र छिरङ याङदेनले समान १-१ गोल गरेका थिए। समूह ‘बी’ मा रहेको श्रीलंकाले भने आफ्नो पहिलो खेलमानै पराजय भोग्यो।


प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी ७ राष्ट्रको सहभागिता रहेको छ।