झापा । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो तीन महिनामा १२ अर्ब २८ करोड ३० लाख रुपैयाँँका मालवस्तु आयात भएका छन् । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३१ प्रतिशत बढी हो ।
मेची भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासिकमा यस नाकाबाट १० अर्ब ८४ करोड ३ लाख बराबरको सामान आयात भएको थियो । सोही अवधिमा निर्यात भने घटेको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।
चालु वर्षको पहिलो त्रैमासिकमा ४ अर्ब ८० करोड ३९ लाख रुपियाँँ बराबरको मात्र वस्तु निर्यात भएको छ, जस भने गत वर्षको सोही अवधिमा ६ अर्ब ८ करोड ६९ लाख रुपियाँँ थियो ।
काँकरभिट्टाबाट निर्यात हुने प्रमुख वस्तुहरूमा अलैंची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनियर सिट र मोलासिस रहेका छन्। त्यस्तै आयात हुने प्रमुख वस्तुहरूमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराका कच्चा पदार्थ, तरकारी, फलफूल, खनिजजन्य उत्पादन र तयारी कपडा पर्छन् ।
भन्सार कार्यालयका अनुसार व्यापार गतिविधिबाट चालु आवको पहिलो त्रैमासिकमा ४ अर्ब १५ करोड २० लाख ८ हजार रुपियाँँ राजस्व संकलन भएको छ। यो गत वर्षको तुलनामा १५.६९ प्रतिशतले बढी हो ।