सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रबिसेमा सभाखोलाले बगाएपछि बेपत्ता भएका बालकको शव भेटिएको छ ।
९ वर्षीय बालक ऋतिक विश्वकर्माको शव आज बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
गएको २० गते भाइटीकाको दिन पौडी खेल्न गएका विश्वकर्मालाई खोलाले बगाएर बेपत्ता बनाएको थियो ।
बेपत्ता भएको एक हप्तापछि उनको शव बाह्रबिसेभन्दा केही तल रहेको चनौटे दहमा ढुङ्गाको चेपमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
तिहारको भाइटीकाको दिन बाह्रबिसे नजिकै सभाखोलामा ऋतिक र अर्का आठ वर्षीय बालक विपिन विश्वकर्मा पौडी खेल्न गएका थिए ।
खोलाले दुवैलाई बगाएको थियो । विपिनको शव त्यहीदिन फेला परे पनि ऋतिककोशव भेटिएको थिएन । एक हप्तादेखि स्थानीयवासी, आफन्त र प्रहरीले शवको खोजी गरिरहेको थियो ।