नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : साढे ६ सय खेलाडी घाइते

न्युजलय ३ कार्तिक २०७९, बिहिबार ०३:१० मा प्रकाशित

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान विभिन्न खेलका साढे ६ सयभन्दा बढी खेलाडी घाइते भएका छन्। नवौं राष्ट्रिय खेलकुद सुरु भएपछि बुधबार दिउँसोसम्म ६ सय ४७ जना खेलाडी घाइते भइसकेको स्वास्थ्य उपसमिति सचिवालयका डा. हेमनाथ आचार्यले जानकारी दिए। 

 

उनले धेरैजसो खेलाडीमा सफ्ट टिस्यु इन्जुरी, फ्याक्चर र डेंगुको संक्रमण रहेको बताए। अहिलेसम्म एक सय ३० जनालाई विभिन्न अस्पतालमा रेफर गरेको र  चार जनाको जटिल शल्यक्रिया गरिएको उनले बताए । शल्यक्रिया गरेका चार जना खेलाडीमध्ये एक दुई जनाको क्लाभिकल इन्जुरी र अन्य दुईको फ्याक्चर रहेको उनले जानकारी दिए। 


उनले पोखरा आसपासमा रहेका खेलाडी मात्रै मेडिकल सेन्टरमा आएको बताउँदै बाहिरी जिल्लामा भएका खेलाडीको तथ्यांक नभएको बताए।


पोखरा रंगशालामा रहेको स्वास्थ्य उपसमितिको मेडिकल सेन्टरमा आउने अधिकांश ह्यान्डबल, रग्बी, जुडो, फुलकन्ट्याक्ट कराते, कबड्डी, उसु, बक्सिङ, खोखो, एथलेटिक्स, भारोत्तोलन, भलिबललगायतका खेलका खेलाडी रहेको डा। आचार्यले बताए। 


उनी नियमित प्रशिक्षणको अभाव, खेल मैदान, लगाउने पोसाक र अनुशासनका कारण पनि घाइते र विरामी हुन खेलाडीको संख्या बढिरहेको बताउछन्।उनले खेलाडीहरू आधा लुगा लगाएर हिंड्ने गरेका कारण डेंगुको संक्रमणमा पर्ने गरेको बताए। 


खेलकुद विज्ञ सुशीलनरसिंह राणाले नियमित प्रशिक्षण र फिटनेसको कमीका कारण खेलाडीहरू अत्याधिक घाइते भएको बताए। उनी खेलाडीको नियमित प्रशिक्षण हुनुपर्ने र ठूला प्रतियोगिताअघि कम्तीमा ६ महिनाको विशेष प्रशिक्षण हुनुपर्ने बताउँछन्।