काठमाण्डौ । अमेरिकामा जथाभाबी औषधि खाएका कारण एक वर्षमा एक लाखभन्दा धेरैको ज्यान गएको पाइएको छ ।
प्रतिबन्धित औषधि फेन्टानाइल र नक्कली चक्की खाएकै कारण उनीहरुको ज्यान गएको हो । यी औषधिको अनलाइनबाट बिक्री बढेको र त्यसले मानव स्वास्थलाई जोखिममा पारिरहेको स्वास्थ्यका विज्ञको भनाइ छ ।
अमेरिकामा सन् २०२० अप्रिलदेखि सन् २०२१ अप्रिलसम्मको एक वर्षको अवधिमा एक लाख तीन सय ६ जनाको औषधिको बढी प्रयोग अर्थात ओभर डोजका कारण ज्यान गएको छ ।
अमेरिकी औषधि नियामक निकायले लागूपदार्थ मिसाइएका औषधि अनलाइनबाट बिक्री भइरहेको भन्दै सचेत रहन नागरिकलाई आग्रह गरेको छ।
चीनबाट आपूर्ति गरिएका रसायनको मद्दतबाट यस्ता औषधि मेक्सिकोमा उत्पादन हुँदै आएको अमेरिकी स्वास्थ्य अधिकारीको भनाइ छ। यी नक्कली औषधिका चक्कीहरु ई–कमर्स साइटमा छ्यापछ्याप्ती उपलब्ध छन् ।