केसीसीमा ‘म्यानेजमेन्ट स्कोलर्स म्यागेजिन’ को १०औं संस्करण विमोचन

न्युजलय २१ असार २०८२, शनिवार ०८:४१ मा प्रकाशित

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बद्ध कान्तिपुर सिटी कलेज (केसीसी) ले बीबीए संकायका विद्यार्थीहरूले तयार पारेको म्यानेजमेन्ट स्कोलर्स म्यागेजिन को १०औं संस्करण विमोचन गरेको छ।


विमोचन कार्यक्रममा प्रमुख अतिथि पूर्व एफएनसीसीआई अध्यक्ष भवानी राणा, प्रोफेसर रामाकृष्ण रेग्मी, प्रो. डा. महेन्द्र सिंह, म्यानेजमेन्ट एसोसिएसन अफ नेपालका महासचिव इन्द्रकुमार श्रेष्ठ, केसीसीका प्रबन्ध निर्देशक डा. प्रल्हाद कार्की र प्रिन्सिपल राजु कट्टेलले संयुक्त रूपमा म्यागेजिन सार्वजनिक गरे ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि राणाले विद्यार्थीहरूको प्रयासलाई प्रशंसा गर्दै म्यागेजिनजस्ता गतिविधिले भविष्यका नेतृत्व विकासमा सहयोग पुर्‍याउने धारणा राखिन् । प्रो. डा. महेन्द्र सिंहले म्यागेजिनले विद्यार्थीको रचनात्मकता बढाएको र ज्ञानको दायरा फराकिलो बनाएको उल्लेख गरे । महासचिव श्रेष्ठ र निर्देशक कार्कीले म्यागेजिन निरन्तरताको शुभकामना दिंदै यसले विद्यार्थीमा व्यावहारिक सीप विकास गरेको बताए ।


प्रो. रामा कृष्ण रेग्मीले भने, एआईमा पूर्णरूपमा निर्भर हुन नहुनेमा जोड दिएका थिए ।


यस वर्षको संस्करणले ‘पर्यटन र एआई’ विषयमा विशेष जोड दिएको छ । शिक्षा, व्यापार तथा रोजगारीका क्षेत्रमा एआईको प्रयोग, त्यससँग सम्बन्धित सीप र भविष्यका सम्भावनाहरू म्यागेजिनमा समेटिएका छन् ।


प्रिन्सिपल कट्टेलले विद्यार्थीको सफ्ट स्किल्स विकासमा कलेजले निरन्तर साथ दिँदै आएको उल्लेख गर्दै म्यागेजिन प्रकाशनलाई नियमितता दिन आग्रह गरे।


केसीसीले सन् २००५ देखि बीबीए कार्यक्रम सञ्चालन गर्दै आएको छ र काठमाडौं उपत्यकामा यो कार्यक्रम सञ्चालन गर्ने अग्रणी संस्थाहरूमा पर्दछ। कार्यक्रममा विद्यार्थी, शिक्षक, प्राध्यापक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।